चार्जमा राखेको इलेक्ट्रिक स्कूटरको ब्याट्री विस्फोट हुँदा भारतमा १ को मृत्यु

Technology Khabar ६ पुष २०७८, मंगलवार

चार्जमा राखेको इलेक्ट्रिक स्कूटरको ब्याट्री विस्फोट हुँदा भारतमा १ को मृत्यु
सांकेतिक तस्बिर

काठमाडौं ।

छिमेकी देश भारतमा विद्युतीय दुईपाङ्ग्रे सवारीसाधनमा आगलागीका घटना एकपछि अर्को गर्दै आएका छन्। यस्तै, भर्खरको घटना भारतको गुरुग्रामबाट प्रकाशमा आएको छ, जहाँ विद्युतीय दुई पाङ्ग्रे गाडीको ब्याट्री विस्फोट हुँदा एक ६० वर्षीय पुरुषको मृत्यु भएको छ। यति मात्र होइन परिवारका अन्य चारजना गम्भीर घाइते भएका छन्।

इलेक्ट्रिक स्कूटरको ब्याट्री विस्फोट हुँदा एकजनाको ज्यान गएको र चारजना घाइते भएका कारण विष्फोट कति तीव्र गतिमा भएको होला भन्ने अनुमान गर्न सकिन्छ।

टाइम्स अफ इन्डियाको रिपोर्टकाअनुसार यो घट्ना गुरुग्रामको सेक्टर ४४ को हो जहाँ गत हप्ता बिहीबार राति चार्ज गर्ने क्रममा विद्युतीय दुई पाङ्ग्रे गाडीको ब्याट्री विस्फोट भयो।

गुरुग्रामको सेक्टर ४४ मा रहेको एउटा सानो घरमा बस्ने सुरेश साहुले चिया पसल चलाउने गर्थे र घटना भएको रात पत्नी रीना र तीन छोराछोरीसँग घरमा सुतेका थिए। राति करिब ११ बजेतिर विद्युतीय दुई पाङ्ग्रे सवारीसाधनको ब्याट्री पड्किएर घरमा राखिएको कम्बल, कपडा, टिभीलगायतका सामानमा समेत आगलागी भएको थियो।

उनको घरबाट निस्केको आगो र चिच्याहट सुनेर परिवारलाई बचाउन खोज्ने समयसम्म सुरेशको मृत्यु भइसकेको थियो । तर, परिवारका अन्य सदस्य भने बचेका छन् जसमध्ये दुईको अवस्था गंभिर भएको बताईएको छ।

प्रहरीकाअनुसार सो इलेक्ट्रिक स्कूटर १ वर्ष पनि पुरानो नभएको र त्यसलाई बाहिर पार्क गरिएको थियो । सो ब्याट्री पड्किनुको कारण थाहा नभएको र अनुसन्धान जारी भएको रिपोर्टमा उल्लेख छ।

यसअघि पनि केहि दिनअघि भारतकै मुम्बईमा सडकमा नै साहाराइभोल्स नामक कम्पनीको इलेक्ट्रिक स्कूटरमा अचानक आगलागी भएको थियो।

easy care

प्रकाशित: ६ पुष २०७८, मंगलवार