हालसम्म कसैले हालेनन् नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदमा दरखास्त

Technology Khabar ५ पुष २०७८, सोमबार

हालसम्म कसैले हालेनन् नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदमा दरखास्त
नेपाल टेलिकमको भद्राकाली प्लाजा, सिंहदरबारमा रहेको केन्द्रीय कार्यालय । फाइल तस्बिर

काठमाडौं ।

नेपाल टेलिकमको नयाँ प्रबन्ध निर्देशक पदमा हालसम्म एक जनाको पनि उम्मेदवारी परेको छैन।

सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा बैकुण्ठ अर्यालको संयोजकत्वमा गठन गरेको समितिले सो पदमा इच्छुक व्यक्तिहरुसँग दरखास्त माग गरेपनि शुक्रबारसम्म कसैले आवेदन दर्ता गरेका छैनन्।

पछिल्लो समय निकै चर्चा र विवादमा पर्ने गरेको प्रबन्ध निर्देशकको पदमा इच्छा देखाएका भनिएका व्यक्तिहरुले समेत दरखास्त नहालेको मन्त्रालयका एक अधिकारीले बताए।

“हालसम्म कसैले दरखास्त हालेका छैनन्। अझै केहि दिन बाँकी भएको हुँदा अन्तिम समयमा बुझाउने चलनले गर्दा अन्तिममा दरखास्त आउँछ होला,” ती अधिकारीले भने।

उनकाअनुसार प्रबन्ध निर्देशक नियुक्ति गर्नका लागि तयार पारिएको पछिल्लो निर्देशिकाअनुसार पनि सो पदमा इच्छा राख्ने व्यक्तिले ती विषयहरुमा खरो उत्रने गरी तयारीका साथ आउनुपर्ने हुँदा ढिला भएको हुनसक्छ।

यसअघि सरकारले नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रवन्ध निर्देशकको नियुक्ति र सेवा सुविधा सम्बन्धी निर्देशिका, २०७८ मार्फत तलब सुबिधामा सहुलियत दिएपनि अन्य नियुक्ती एक कार्यकाल मात्र हुने र कार्यसम्पादनलगायतका विषयहरु पुरा गर्नुपर्ने गरी आवेदन माग गरेको थियो।

निवेदकहरुले पुस ७ गते दिनको ४ बजे भित्रमा आफ्नो सम्पूर्ण बिबरणहरुसहित मन्त्रालयमा रहेको संस्थान समन्वय शाखामा दरखास्त दिनुपर्नेछ।

सम्बन्धित समाचार-

नेपाल टेलिकमका नयाँ प्रबन्ध निर्देशकको पदावधि ४ वर्षसम्म, मासिक तलब ५० हजार रुपैयाँ बढ्यो

तर त्यस बारेमा चासो राख्नेहरुले भने हालको सरकार र राजनीतिक अवस्था हेरेर आवेदन नआएको दाबी गरे।

“अहिलेको सरकार रहिरहन्छ वा आगामी दिनमा नयाँ आउने सरकारले नियुक्त भएको व्यक्तिलाई फेरी हटाउन कारबाही गर्ला भन्ने छ। त्यसैले पनि व्यवसायिक व्यक्तिलाई समस्या पार्दछ,” ती व्यक्तिले भने।

हालका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीको कार्यकाल यहि पुस २२ गतेसम्म छ भने त्यसपछि सरकारले नयाँ प्रबन्ध निर्देशक ल्याउनुपर्ने हुन्छ।

यो समाचार पनि हेर्नुस्-

दूरसञ्चार प्राधिकरणको बढुवा प्रकृया बारे उच्च अदालतले छलफलका लागि बोलायो दुवै पक्षलाई

easy care

प्रकाशित: ५ पुष २०७८, सोमबार

ताजा समाचार