अत्याधुनिक क्यामराले पत्ता लगाइँदै बाघको संख्या

Technology Khabar २० मंसिर २०७८, सोमबार

अत्याधुनिक क्यामराले पत्ता लगाइँदै बाघको संख्या
NTC_Advt

काठमाडौं ।

विश्वमै लोपोन्मुख सूचीमा रहेको बाघको संख्या यकिन गर्न नेपालका राष्ट्रिय निकुञ्जमा बाघ गणना शुरु भएको छ। क्यामरा ट्र्याप, रेञ्ज फाइन्डर, जीपीएस ट्र्याकिङ लगायतका विधिमार्फत वयस्क बाघको संख्या पत्ता लगाइँदैछ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी), जुलोजिकल सोसाइटी अफ लन्डन (जेडएसएल नेपाल), विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ नेपाल)को साझेदारीमा राष्ट्रियस्तरको गणना आइतबार चितवनबाट शुरु भएको हो।

कहाँ कहाँ छ बाघको उपस्थिति?

नेपालमा चितवन, पर्सा, बाँके, बर्दिया, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका अतिरिक्त डडेलधुरा, इलाम, दाङ लगायतका भेगमा बाघको उपस्थिति पाइएको छ।

अन्य जीवजन्तुको तुलनामा बाघको सर्वेक्षण जोखिम र जटिल भएकाले विश्वव्यापी अभ्यासलाई पछ्याउँदै क्यामरा ट्र्याप लगायतको प्रविधि प्रयोग भएको विभागले जनाएको छ।

के-के विधि प्रयोग गरिँदैछ?

सन् २०१७मा सरकारले पारित गरेको ‘टाइगर एण्ड प्रे बेस मोनिटरिङ प्रोटोकल’अनुसार क्यामरा ट्र्याप र अकुपेन्सी सर्भे विधि अपनाएर बाघको संख्या पत्ता लगाइने विभागका अधिकारी बताउँछन्।

बाघ गणनाका लागि एउटा ग्रीडमा दायाँ–बाँया हुने गरी एक जोडी क्यामरा जडान गरिन्छ। बाघ सर्वेक्षणका लागि एक हजारभन्दा बढी क्यामरा प्रयोग हुँदैछन्।

बाघकोे बासस्थान र विचरण क्षेत्र पहिचान भएको प्रत्येक चार वर्ग किलोमिटरमा एक जोडी क्यामरा जडान गरेर अनुगमन गरिने चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले बताए।

२ हजार भन्दा बढी क्यामरा प्रयोग हुने

चितवन–पर्सा कम्प्लेक्समा मात्रै तीन सय जोडीभन्दा बढी क्यामरा प्रयोग हुने उनले जानकारी दिए। चितवनपछि बाँके–बर्दिया कम्प्लेसमा मात्रै २५० जोडी अर्थात ५०० ओटाभन्दा बढी क्यामरा प्रयोग गर्ने तयारी गरिएको छ।

बाघको बासस्थान पहिचान भएका क्षेत्रको अनुगमनका लागि १९ सय २४ वटा ग्रीड बनाएर ३३ सय २८ वटा क्यामरा प्रयोग हुनेछन्। ‘१५ दिनसम्म क्यामरालाई एक ठाउँमा राखिन्छ’, आचार्यले भने, ‘एक ठाउँमा सर्वेक्षण सकेपछि त्यही क्यामरा अन्य ठाउँमा पनि प्रयोग हुने भएकाले गणनामा क्यामराको कमी हुने छैन।’

गणनामा प्रयोग गरिएको क्यामरा, तस्बिर सौजन्य: डब्लूडब्लूएफ नेपाल

नेपालसहित विभिन्न १३ मुलुकका प्राकृतिक बासस्थानमा बाघको उपस्थिति पाइएको छ। नेपालमा हरेक चार वर्षको अन्तरमा बाघ गणना हुने गर्छ। यसअघि सन् २०१८को गणनाअनुसार नेपालका प्राकृतिक बासस्थानमा २३५ वयस्क बाघ फेला परेका थिए।

चितवनमा ९३, बर्दियामा ८७, बाँकेमा २१, पर्सामा १८ र शुक्लाफाँटामा १६ वटा बाघ भेटिएका थिए। त्यसअघि सन् २०१३को गणनामा नेपालका निकुञ्ज र संरक्षित क्षेत्रमा वयस्क बाघको संख्या १९८ थियो।

अमेरिका र चीनमा बनेका क्यामरा प्रयोग हुँदै 

बाघ गणनामा प्रयोग भएका क्यामरा अमेरिका र चीनमा बनेका हुन्। एक पटक प्रयोग भएका क्यामरा पटक–पटक प्रयोग गर्न मिल्ने भएकाले यसपटक विगतको गणनामा प्रयोग भएकालाई पुनः प्रयोग गरिएको एनटीएनसीका संरक्षण अधिकृत डा. नरेश सुवेदीले बताए।

‘यसपटक नयाँ क्यामरा खरिद गरिएको छैन, सन् २०१८ को गणनामा प्रयोग भएका क्यामरा नै प्रयोग गरिएको छ,’ उनले भने।

बाघ लगायतका जीवजन्तु अनुगमनका लागि क्यामरा ट्र्याप, सन्टो कम्पास, रेञ्ज फाइन्डर, जीपीएस, रेकर्ड फारम लगायतका विधि अनुसरण गरिन्छ। सुवेदीकाअनुसार जीवजन्तुको सर्वेक्षण र अनुगमनका लागि विश्वभर यही विधि अपनाइन्छ। तथ्यांक विश्लेषण गर्ने शैली पनि विश्वभर लगभग एउटै हुने उनले प्रष्ट्याए।

क्यामराले यसरी संकलन गर्छन् बाघको तथ्याङ्क  

क्यामरा जडान भएका क्षेत्र अगाडि र आसपासबाट ओहोर–दोहोर गर्ने जन्तुलाई स्वचालित क्यामराले पटक–पटक तस्बिरका रुपमा कैद गर्छन्। क्यामरामा जडान हुने मेमोरी कार्डले तस्बिरलाई सहजै सुरक्षित गर्छ। गणनामा खटिएका प्राविधिकले मेमोरी कार्डको तथ्यांक र विवरण कम्प्युटरमा सुरक्षित गर्छन्।

यसरी संकलन हुने तस्बिर र विवरणलाई विभिन्न चरणमा विश्लेषण गरेर लिंग र उमेरसमेत पहिचान गर्न सकिने सुवेदीले जानकारी दिए। क्यामरामा कैद भएका बाघका पाटा, रौं लगायतका अन्य अंगको सूक्ष्म विश्लेषणपछि नतिजा प्राप्त हुने उनले प्रष्ट्याए। ‘हरेक बाघका शरीरका पाटा, शरीरको चौडाई र मोटाई फरक हुने भएकाले तथ्यांक विश्लेषणका क्रममा एउटै बाघ हो या होइन भनेर छुट्याउन सकिन्छ’, सुवेदीेले भने।

गणना अढाई महिना हाराहारीसम्म जारी रहने विभागले जनाएको छ। सर्वेक्षणका लागि चितवन–पर्सा कम्प्लेक्समा मात्रै एक सयभन्दा बढी प्राविधिक फिल्डमा परिचालन गरिएको छ।

झण्डै पाैने ४ करोड रुपैयाँ खर्च हुने

राष्ट्रियव्यापी गणनाका लागि करिब तीन करोड ७० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। यो कार्यका लागि विभागले ८२ लाख, एनटीएनसीले ८८ लाख, जेडएसएल नेपाल र डब्लूडब्लूएफले एक/एक करोड रुपैयाँ छुट्याएका छन्।

नेपालले सन् २०२२ भित्र बाघको संख्या २५० पुर्याउने अन्तर्राष्ट्रिय प्रतिबद्धता जनाएको छ। सन् २०१०मा रुसको सेन्ट पिटर्सवर्गमा भएको बाघ पाइने मुलुकको अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालले यस्तो प्रतिबद्धता जनाएको थियो। यसपटकको गणनामा अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा हुने नेपालका संरक्षणकर्मीहरुको विश्वास छ।

प्रकाशित: २० मंसिर २०७८, सोमबार