अनलाइन प्रणालीले बढायो मालपोत कार्यालयको राजस्व

Technology Khabar २० मंसिर २०७८, सोमबार

अनलाइन प्रणालीले बढायो मालपोत कार्यालयको राजस्व
NTC_Advt

काठमाडौं ।

पाँचथरको मालपोत कार्यालयमा अनलाइन श्रेस्ताको व्यवस्था भएसँगै यसले राजस्व बढाएको छ। २०७४ असार १५ देखि अनलाइन लागु भएयता राजस्व चुहावट रोकिएसँगै राजश्व वृद्धि हुने क्रम बढेको हो।

विगतमा चालीस प्रतिशत मात्र राजस्व सङ्कलन हुने गरेकोमा अनलाइन पद्धतिबाट शतप्रतिशत जम्मा हुन थालेको जनाइएको छ। वर्तमानमा जग्गाको कारोबार धेरै घटे पनि राजस्व सङ्कलन दर स्थिर रहेको मालपोत प्रमुख बाबुराम पोख्रेलले बताए।

करको दर पनि बढाएइको छैन्। पूर्ववत् अवस्थामै कर दर कायम रहँदा पनि प्रत्येक आर्थिक वर्षमा राजस्व वृद्धि हुने क्रम बढ्दो छ। अनलाइन लागु हुनुपूर्व आर्थिक वर्ष २०७३/७४ मा १ करोड ६६ लाख ५३ हजार रुपियाँ मात्र राजस्व सङ्कलन भएको थियो। आव २०७४/७५ मा २ करोड १९ लाख ८१ हजार, २०७५/७६ मा २ करोड ५० लाख ७७ हजार सङ्कलन भएको बताइएको छ।

त्यस्तै, २०७६/७७ मा २ करोड ७ लाख ११ हजार र २०७७/७८ मा ३ करोड ५८ लाख ९६ हजार राजस्व सङ्कलन भएको सो कार्यालयले जनाएको छ।

राजस्व वृद्धि हुनुमा अनलाइन प्रणालीको ठूलो सहयोग रहेको कार्यालयका पदाधिकारीहरुको बुझाइ छ। कर सङ्कलन प्रणालीलाई अनलाइनले पारदर्शी बनाएको कर्मचारीहरुको भनाइ छ।

जग्गासम्बन्धी जुनै पनि कारोबार गर्दा सोअनुसार लाग्ने तोकिएको सेवा दस्तुर उल्लेख गरेपछि मात्रै अनलाइनले श्रेस्ता कायम गर्छ। जम्मा हुन आउने राजस्व सम्बन्धित कर्मचारीले दाखिला गर्नैपर्ने बाध्यता छ। यो व्यवस्थाले कर्मचारीले राजस्व हिनामिना गर्ने मौका पाउन छाडेका जनाइएको छ। त्यसैगरी सेवाग्राहीले सेवा लिएवापत जति दस्तुर तिरेको हो सोही बराबरकोे अनलाइनले जारी गर्ने भर्पाई पाउने गरेका छन् ।

अनलाइन श्रेष्ता प्रणालीले राजस्व चुहावट रोक्नुका साथै विभिन्न तरिकाले हुनेगरेको भ्रष्टाचार निरुत्साहित गरिरहेको कर्मचारीहरुको भनाइ छ । दृष्टि बन्धक, राजीनामा, अंशबण्डा, छोडपत्र, अंश भर्पाई, दर्ता फारी लगायतका सेवावापत मालपोतमा राजस्व लिइने गरेको छ।

आधा ढड्डा र आधा अनलाइन प्रणालीबाट दैनिक कारोबार हुनेगरेको छ। अनलाइन व्यवस्थाले कुनै पनि सेवाग्राहीले मालपोतलाई तिर्नुपर्ने लाभकर छल्न, लुकाउन पनि नदिने गरेको छ। यसैगरी हदबन्दी जग्गा पनि पत्ता लाग्ने गरेको जनाइएको छ।

त्यस्तै स्रेस्तामा राखिएका सेवाग्राहीको अनुहारको फोटो, औंठाछाप जस्ता जैविक विवरण अनलाइनले प्रमाणीकरण गरेपछि मात्रै कारोबारका लागि आधिकारिकता प्रदान गर्ने गरेको छ। गोरखापत्र अनलाइनबाट

प्रकाशित: २० मंसिर २०७८, सोमबार