काठमाडौं ।
नेपाल दूरसञ्चार प्राधिकरणले पोल भाडा तथा स्वयं घोषणाको बारेमा सहजीकरण गरिदिनका लागि नेपाल विद्युत प्राधिकरण(एनईए) लाई पत्र लेखेको छ।
दूरसञ्चार क्षेत्रको नियमनकारी निकाय प्राधिकरणले एनईएलाई इन्टरनेट सेवा प्रदायकहरुले रकम तिर्न र स्वयं घोषणा गर्न खोज्दा समेत नसकेको भन्दै सहज गरिदिन भनेको हो ।
प्राधिकरणले यसको लागि शुक्रबार नै एनईएलाई पत्र पठाएको हो।
दूरसञ्चार प्राधिकरणले यसअघि सेवा प्रदायक भायनेटको पत्रको आधारमा अन्य सबै कम्पनीहरुलाई समेत सहजीकरण गरिदिन भनेको प्राधिकरणका सह प्रवक्ता अच्युतानन्द मिश्रले जानकारी दिए।
यसअघि भायनेटले आफूले एईएलाई विद्युतका पोलहरु प्रयोग गरे बापतको रकम स्वयं घोषणा गरी भूक्तानी गर्नुपर्ने प्रावधान पालना गर्न चाहेपनि सहज नभएको जानकारी गराएको थियो ।
कम्पनीले विभिन्न ९ वटा वितरण केन्द्रहरुमा सम्पर्क गरेर स्वयं घोषणामार्फत रकम तिरेपनि अन्य वितरण केन्द्रहरुले खाता नम्बर नै उपलब्ध नगराएको गुनासो गरेको थियो ।
उता विद्युत प्राधिकरणले भने स्वयं घोषणाको लागि वितरण्ण केन्द्रहरुमा सम्पर्क गरेर जानकारी दिनुपर्ने भन्दै इन्टरनेट सेवा प्रदायक कम्पनीहरु सम्पर्कमा नै नआएको बताएको थियो । आईएसपीहरु सम्झाैतामा नआए फेरि लाइन काट्नुको विकल्प नहुने यसअघि नै एनईएका वितरण तथा ग्राहक सेवा निर्देशनालयका उप निर्देशक मनोज सिलवालले चेतावनी दिएका छन्।
उता कम्पनीहरुले भने जीपीएस र जीआईएसका आधारमा पोलहरुको स्थान र सङ्ख्या प्राधिकरण आफैंसँग पनि नभएकाले त्यसका आधारमा आईएसपीहरुले शुल्क तिर्ने भन्ने माग नै अव्यवहारिक रहेको बताउँदै आएका छन्।
सम्बन्धित समाचार-
विद्युत प्राधिकरण र आईएसपीहरुका अडानका कारण निस्किएन पोल भाडा सम्झाैताको निकास
प्रकाशित: १२ मंसिर २०७८, आईतवार