शा‌ओमीको आधिकारिक बितरक वत्सल इम्पेक्सको सञ्चालन मुनाफा यो वर्ष ६.२ प्रतिशतले बढ्ने

Technology Khabar १० मंसिर २०७८, शुक्रबार

शा‌ओमीको आधिकारिक बितरक वत्सल इम्पेक्सको सञ्चालन मुनाफा यो वर्ष ६.२ प्रतिशतले बढ्ने
NTC_Advt

शाओमी मोबाइलको नेपालका लागि आधिकारिक बितरक वत्सल इम्पेक्सले यो वर्ष ६.२ प्रतिशतको वृद्धि गरी अर्ब ४४ करोड १० लाख रुपैयाँ सञ्चालन मुनाफा गर्ने प्रक्षेपण गरिएको छ।

हालै रेटिङ संस्था इक्रा नेपाल प्रालिले सार्वजनिक गरेको एक रिपोर्ट अनुसार वत्सल इम्पेक्स प्रालिको कारोबार १५५ प्रतिशतले वृद्धि भएको पाइएको छ।

शारदा ग्रुप अन्तर्गत रहेको वत्सल इम्पेक्स प्रालि विगत ६ वर्षयता शाओमी मोबाइल तथा जनवरी २०२० यता ईजेडभिआईजेडको आधिकारिक विक्रेताका रुपमा काम गर्दै आइरहेको छ।

इक्राका अनुसार कम्पनीको इन्ट्रेस्ट कभरेज रेशियो यो वर्ष १५ गुणा बढेको छ जुन गत वर्ष अर्थात् सन् २०२० मा ४ गुणामात्र बढेको थियो। यसैगरी यो वर्ष कम्पनीले कोभिड-१९ महामारीपछिको समयमा स्मार्टफोनको व्यापार उल्लेख्य रुपमा बढाउन सफल भएको छ।

कम्पनीले गत साउन मसान्तसम्म काठमाडाैंमा १४ ओटा डिलर तथा ९० ओटा खुद्रा व्यापारी मार्फत् व्यापार बढाउन सफल भएको देखिन्छ।

कम्पनीले ईजेडभिआईजेडको वितरक हुनुबाहेक पोकोफोन, फिटबिट तथा टिकवाच स्मार्टवाचको बिक्रीमार्फत् आफ्नो आम्दानीको स्रोतमा विविधिकरण गरेको प्रतिवेदनमा उल्लेख छ।

पोको फोनको बिक्रीबाट २०२१ मा २१ प्रतिशत आम्दानी संकलन भएको थियो भने रेडमीको बिक्री १०३ प्रतिशत बढेर समग्र आम्दानीमा ७७ प्रतिशत थप गरेको इक्राको प्रतिवेदनमा उल्लेख छ।

वार्षिक रुपमा हेर्दा सन् २०१७ मा ७१ करोड ८० लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको कम्पनीले २०१८ मा आउँदा ४.८ प्रतिशतको वृद्धिसहित १ अर्ब ७ करोड ३० लाख रुपैयाँ मुनाफा गरेको प्रतिवेदनमा उल्लेख छ।

यस्तै सन् २०१९ मा आउँदा ५ प्रतिशत वृद्धिसहित १ अर्ब १६ करोड ५० लाख तथा २०२० मा ५.८ प्रतिशतको वृद्धिसहित २ अर्ब १३ करोड रुपैयाँ नाफा गरेको छ।

प्रकाशित: १० मंसिर २०७८, शुक्रबार