Technology Khabar ९ मंसिर २०७८, बिहीबार
काठमाडौं ।
नेपाल टेक्नोलोजी इनोभेसन सेन्टर (एनटीआईसी) भवन निर्माणको कामले तीव्रता पाएको छ। विभिन्न परियोजनाको खोज तथा अनुसन्धान गर्ने स्थानका रूपमा विकास गर्ने उद्देश्यले काठमाडौँ विश्वविद्यालय परिसरमा इनोभेसन सेन्टर निर्माण भइरहेको छ।
दक्षिण कोरियाली संस्था कोरिया अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (कोइका)को आर्थिक सहयोगमा भवन निर्माण भइरहेको हो।
गत वर्ष भदौबाट सुरु गरिएको भवन निर्माणको काम धमाधम भइरहेको विश्वविद्यालयको एकीकृत ग्रामीण विकास परियोजनाअन्तर्गतको एनटीआईसीका परियोजना संयोजक डा. विनय केसीले जानकारी दिए।
नेपालका ग्रामीण भेगका विपन्न नागरिकको आर्थिक उपार्जन र जीवनस्तर सुधारका लागि कुनै पनि व्यक्ति तथा संस्थाले केयू परिसरमा निर्माण हुने भवनमा आएर खोज तथा अनुसन्धान गर्न सक्ने उनले बताए।
उनले खोज तथा अनुसन्धान गर्ने व्यक्तिका लागि प्राविधिक सहयोग आवश्यक परेको खण्डमा विश्वविद्यालयमा रहेका प्राध्यापक तथा विद्यार्थीले उपलब्ध गराउने बताए। उनले भवन निर्माण भएपछि देशभरका खोज, अनुसन्धानकर्ताले धुलिखेलमा रहेको सेन्टरको भवनमा आई परियोजना तयार गर्नसक्ने बताए। उनले कुनै पनि व्यक्तिसँग राम्रो परियोजनाको परिकल्पना रहेको तर ऊसँग रकम नभएको खण्डमा सेन्टरले आफैँ लगानी गरेर परियोजना बनाउन सहयोग गर्ने बताए।
कोइकाको सहयोगमा केयूमा सन् २०१६ देखि विश्वविद्यालयको अनुसन्धान र विकास क्षमताको वृद्धि गरी ग्रामीण भेगमा रहेका जनताको जीवनस्तर सुधार गर्ने लक्ष्यले एकीकृत ग्रामीण विकास परियोजना सञ्चालन भइरहेको पनि उनले बताए। उनले इनोभेसन सेन्टरका लागि आवश्यक पर्ने केही उपकरण विश्वविद्यालयमा जडान गरिसकिएको बताए।
सन् २०२० को १४ सेप्टेम्बरबाट सुरु गरिएको भवन निर्माणको काम १३ नोभेम्बर २०२२ भित्र निर्माण सम्पन्न गर्ने गरी लुम्बिनी विल्डर्स कम्पनी प्रालिले भवन निर्माणको ठेक्का पाई काम गरिरहेको उनले जानकारी दिए।
करिब ४५ करोड रुपियाँको लगानीमा भवन निर्माण सम्पन्न हुनेछ । विश्वविद्यालयले एकीकृत ग्रामीण विकास कार्यक्रमअन्तर्गत वैकल्पिक र नवीकरणीय ऊर्जा, कृषि र ग्रामीण विकास तथा स्वास्थ्यको क्षेत्रमा नवीनतम खोज अनुसन्धानको क्षेत्रमा काम गर्दै आएको छ। सेन्टरले दोस्रो चरणको कार्यक्रमअन्तर्गत ग्रामीण क्षेत्रका मानिसहरूको जीवनस्तर र आम्दानीमा सुधार गर्ने परियोजना बनाउने व्यक्ति तथा संस्थालाई सहयोग गर्ने भएको छ।
परियोजनाले कृषि र ग्रामीण विकास, वैकल्पिक तथा नवीकरणीय ऊर्जा र स्वास्थ्य तथा जीविकोपार्जन सम्बन्धी परियोजना बनाउने व्यक्ति वा संस्थालाई ५० लाख रुपियाँसम्मको अनुदान रकम उपलब्ध गराउन प्रस्ताव आह्वानसमेत गरेको छ।
जनवरी २०२२ देखि अप्रिल २०२३ सम्म १६ महिना सञ्चालन हुने अनुदान कार्यक्रमका लागि कोरिया सरकारले तीन करोड रुपियाँ रकम सहयोग उपलब्ध गराएको हो। गोरखापत्रबाट
प्रकाशित: ९ मंसिर २०७८, बिहीबार