स्वीकृति बिना नम्बरहरु वितरण गरेको भन्दै नेपाल टेलिकमलाई ‘९७४’ नम्बर रेन्ज प्रयोगमा रोक

Technology Khabar ९ मंसिर २०७८, बिहीबार

स्वीकृति बिना नम्बरहरु वितरण गरेको भन्दै नेपाल टेलिकमलाई ‘९७४’ नम्बर रेन्ज प्रयोगमा रोक
NTC_Advt

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले नियमनकारी निकायको अनुमति बिना नै मोबाइल नम्बर बितरण गरेको भन्दै अनुमति नै नलिएको नम्बरको रेन्जमा प्रयोग नगर्न निर्देशन दिँदै कारबाही गरेको छ।

सरकारी कम्पनी टेलिकमले ग्लोबल सिस्टम अफ मोबाइल कम्युनिकेसन (जीएसएम) को अनुमति नलिईकन नै आफूखुसी ‘९७४XXXXXXX’ रेन्जको नम्बर प्रयोग गरेको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले सो नम्बरको रेन्ज प्रयोगमा रोक लगाएको छ। प्राधिकरणको कात्तिक २९ गते बसेको बोर्ड बैठकले सो नम्बर प्रयोग रोक्न निर्देशन दिएको र कारबाही स्वरुप सचेत गराएको हो।

हाल प्रयोगमा रहेको ९८ को मोबाइल नम्बर श्रृंखला भरिएपछि टेलिकमले ९७ कै श्रृंखलामा ग्राहकहरुलाई जीएसएम सेवाको नम्बर दिन थालेको थियो ।

“प्राधिकरणको स्वीकृति विना नम्बरहरु वितरण गरेको सन्दर्भमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेडलाई एक पटकको लागि सचेत गराउने र अब उप्रान्त यस प्रकारको कार्य गरेमा दूरसञ्चार ऐन, २०५३ वमोजिम कारवाही हुने व्यहोरा जानकारी गराउने,” प्राधिकरणको निर्णयमा उल्लेख छ।

हाल प्रयोगमा आईसकेको ९७४XXXXXXX नम्बरलाई भने कुनै कारबाही वा रोक नलगाउने भएको छ। प्राधिकर‌णले ग्राहकहरुलाई यसबाट सेवामा असर पर्न सक्ने भन्दै रोक नलगाउने तर अबदेखि सो रेन्जमा नम्बर प्रयोग गर्न नदिने रणनीति लिएको छ।

नियमनकारी निकायको अनुमति विना नै कुनै पनि नम्बर रेन्ज प्रयोग गर्न नपाईने कानूनी प्रावधान छ।

यसैगरी नम्बरहरु प्रयोगकर्ताहरुलाई वितरण भए पश्चात् उक्त नम्बरहरु दीर्घकालीन रुपमा प्रयोग हुने भएकाले अस्थायी रुपमा प्रदान गरिएको ९७६ नम्बर रेन्ज भने स्थायी रुपमा प्रदान गर्ने निर्णय समेत गरेको छ।

टेलिकमले यसअघि ९७ को नम्बर रेन्ज सीडीएमए सेवाका लागि मात्र प्रयोग गरिरहेको थियो। तर सीडीएमए प्रविधि बन्द गर्ने तयारीमा टेलिकम रहेको छ भने साउनदेखि सीडीएमए सेवाबाट ग्राहकहरुलाई जीएसएममा रुपान्तरण हुन विभिन्न अफरहरु ल्याएको छ।

टेलिकमले यसअघि ९८४, ९८५, ९८६ गरी तीन रेन्जमा जीएसएम नम्बर वितरण गरिरहेको थियो।

प्रकाशित: ९ मंसिर २०७८, बिहीबार