सिटिईभीटीको नर्सिङ कार्यक्रममा निशुल्क छात्रवृत्तिमा भर्ना माग, यसरी दिनुस् अनलाइन आवेदन

Technology Khabar ८ मंसिर २०७८, बुधबार

सिटिईभीटीको नर्सिङ कार्यक्रममा निशुल्क छात्रवृत्तिमा भर्ना माग, यसरी दिनुस् अनलाइन आवेदन
NTC_Advt

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिईभीटी) परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले प्रमाणपत्र तह नर्सिङ कार्यक्रममा निशुल्क छात्रवृत्तिमा भर्नाको लागि अनलाइन आवेदन खुला गरेको छ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् प.नि.का.बाट सञ्चालन गरिने प्रमाणपत्र तह नर्सिङ कार्यक्रममा शैक्षिक सत्र २०७८/०७९ मा “डिप्लोमा तथा प्रमाणपत्र तहको प्रवेश परीक्षा सञ्चालन, छात्रवृत्ति वितरण एवं भर्ना सम्बन्धी निर्देशिका २०७४ (चौथो संशोधन)” बमोजिम परिषद्बाट सञ्चालन सम्बन्धन स्वीकृति प्राप्त आङ्गिक, साझेदारी तथा निजी शिक्षण संस्थाहरूमा निर्धारण गरिएका वर्गीकृत (निःशुल्क) छात्रवृत्ति कोटामा भर्ना खुलाएको छ।

सूचनाअनुसार योग्यता पुगेका नेपाली नागरिकहरूबाट मङ्सिर २८ गते मङ्गलबार भित्र रीतपूर्वक अनलाइनमार्फत आवेदन फाराम भर्न भनिएको छ।

न्यूनतम योग्यता पुगेका आवेदकहरूले मुलुकभरिको कुनै एक प्रदेशमा मात्र आवेदन फाराम भर्न पाइनेछ। एकभन्दा बढी प्रदेशमा आवेदन फाराम भरेको पाइएमा स्वतः रद्द हुने परिषद्ले जानकारी दिएको छ।

अनलाइन आवेदन फाराम बुझाउने सम्बन्धी जानकारी:

क) वर्गीकृत (निःशुल्क) छात्रवृत्तिको आवेदन फाराम आवेदक स्वयंले परिषद् प.नि.का.बाट तोकिएको समय सीमाभित्र अनलाइन एप्लिकेसन फर्म भरी बुझाउनुपर्नेछ। यसरी अनलाइन एप्लिकेसन फर्म भर्दा आफूले अध्ययन गर्न चाहेको कार्यक्रम र प्रदेश स्पष्टसँग उल्लेख गरी अध्ययन गर्न चाहेको शिक्षालय प्राथमिकीकरण गर्नुपर्नेछ।

ख) आवेदन फाराम भर्नका लागि प.नि.का.ले तोकेको कनेक्ट आइपिएस वा खल्टि डिजिटल वालेटको डाइरेक्ट अनलाइन बाट तोकिएको भर्ना प्रक्रिया शुल्क बुझाई भर्न सकिन्छ।

डाइरेक्ट अनलाइनबाट शुल्क जम्मा गरी फाराम भर्ने तरिका

अ) वेब ब्राउजरमा सिटिईभीटी डट ओआरजी डट एनपी वा सिटिईभीटीइक्जाम डट ओआरजी डट एनपी (www.ctevt.org.np वा www.ctevtexam.org.np) टाइप गरी इन्टर गर्ने ।

आ) क्लासिफाईड अनलाइन एप्लिकेसन फर्म(Classified Online Form) मा क्लिक गर्ने।

इ) आफूले अध्ययन गर्न चाहेको एउटा स्तर डिप्लोमा/पिसिएल (Diploma/PCL) छानी न्यू यूजरमा क्लिक गर्ने।

ई) परीक्षार्थीको नाम, थर र मोबाइल नम्बर राखी प्रोसिडमा क्लिक गर्ने ।

उ) शुल्क जम्मा गर्ने पे नाउ (PayNow) मा छानी आफूले शुल्क जम्मा गर्ने कम्पनी छानी प्रोसिडमा क्लिक गर्ने ।

ऊ) शुल्क जम्मा गरेको भेरिफिकेसन पश्चात् आफ्नो पासवर्ड सिर्जना गर्ने र पासवर्ड सिर्जना भइसकेपछि क्लासिफाईड स्कलरसिप अनलाइन एप्लिकेसन फर्म ओपन (Classified Scholarship Online Application Form Open) हुन्छ र अनलाइन एप्लिकेसन फर्ममा उल्लेख भएको आवश्यक विवरण भर्दै जानुपर्नेछ।

आवश्यक कागजात जेपीईजी फर्मेटमा स्क्यान गरी अपलोड गर्ने साइज

  • पासपोर्ट साइज रंगिन फोटोको साइजः न्यूनतम ८ केबी तथा अधिकतम ५० केबी
  • परीक्षार्थीको हस्ताक्षरको साइजः न्यूनतम ३ केबी तथा अधिकतम २० केबी
  • आवश्यक पर्ने कागजातको साइजः न्यूनतम ८० केबी तथा अधिकतम ३०० केबी

वर्गीकृत (निःशुल्क) छात्रवृत्तिको आवेदन फाराम आवेदक स्वयंले अनलाइनमा प्रक्रिया पूरा गरी परिषद्, प.नि.का. बाट स्वीकृत भएपछि तुरुन्त भर्ना अनुमति पत्र प्रिन्ट गर्न सकिन्छ। सो प्रिन्ट गरिएको भर्ना अनुमति पत्र शिक्षण संस्थामा भर्ना हुनका लागि चाहिने हुनाले सुरक्षित राख्नुपर्नेछ।

संस्थाले मोबाइल प्रयोग गरी अनलाइन आवेदन फाराम भर्दा फोटो, कागजातहरू संलग्न गर्दा फाराम सबमिसनमा समस्या आउने गरेकोले सकभर कम्प्युटरको प्रयोग गर्नुहुन अनुरोध गरेको छ।

प्रकाशित: ८ मंसिर २०७८, बुधबार