पूर्ण डिजिटल कारोबार बनाएपछि डिजिटल करेन्सीमा जान सकिन्छ : अर्थमन्त्री शर्मा

Technology Khabar ७ मंसिर २०७८, मंगलवार

पूर्ण डिजिटल कारोबार बनाएपछि डिजिटल करेन्सीमा जान सकिन्छ : अर्थमन्त्री शर्मा

काठमाडौं ।

पूर्णरूपमा डिजिटल कारोबार लागू गरेर डिजिटल करेन्सीमा जान सकिने अर्थमन्त्री जनार्दन शर्माले बताएका छन्।

नेपाल राष्ट्र बैंक परिसरमा आयोजित मंगलबार वित्तीय क्षेत्रको समसामयिक अवस्थाबारे समीक्षात्मक कार्यक्रममा मन्त्री शर्माले पछिल्लो समय क्रिप्टोकरेन्सीको कुरा भइरहेको भन्दै त्यसका लागि पहिले पूर्ण रूपमा डिजिटल कारोबार गर्नुपर्ने बताए ।

“हामी डिजिटल कारोबारमै जान सकेका छैनौँ,” उनले भने, “अहिले डिजिटल करेन्सीको कुरा आइरहेको छ। पहिले पूर्ण रूपमा डिजिटल कारोबार लागू गर्ने वातावरण बनाऔँ, त्यसपछि डिजिटल करेन्सीमा जान सकिन्छ।”

पूर्ण रूपमा डिजिटल कारोबारमा जानलाई आम मानिसलाई वित्तीय साक्षरता भनेझैँ डिजिटल साक्षरता आवश्यक हुने पनि उनले बताए । त्यसका लागि राष्ट्र बैंकले सहजीकरण गर्नुपर्नेमा जोड दिए ।

सरकारले लिएको आर्थिक वृद्धिदरको लक्ष्य प्राप्त गर्न पुँजीगत खर्च बढाउने, पर्यटन क्षेत्रलाई पुनर्जिवित गर्ने तथा बन्द उद्योगलाई पुनः सञ्चालन गर्ने तयारी रहेको मन्त्री शर्माले जानकारी दिए।

यसैबीच मन्त्री शर्माले वैदेशिक रोजगारीमा रहेकाको सञ्चय कोष व्यवस्था गर्ने विषयमा पनि मन्त्रालयमा छलफल भइरहेको बताए । त्यसैगरी गैरआवसीय नेपाली (एनआरएन)लाई डलर खाता खोल्न दिने बारे छलफल भइरहेको जानकारी दिएका थिए।

easy care

प्रकाशित: ७ मंसिर २०७८, मंगलवार

ताजा समाचार