यो शताब्दीकै सबैभन्दा लामो चन्द्रग्रहण आगामी नोभेम्बर १९ मा लाग्ने

Technology Khabar २२ कार्तिक २०७८, सोमबार

यो शताब्दीकै सबैभन्दा लामो चन्द्रग्रहण आगामी नोभेम्बर १९ मा लाग्ने

काठमाडौं ।

खगोलविद तथा शिकारु अवलोकनकर्ताहरुले यो महिना यो शताब्दीकैं सबैभन्दा लामो चन्द्रग्रहण हेर्न पाउने भएका छन्।

अबको दुई हप्तापछि अर्थात् नोभेम्बर १९ का दिन पर्ने कार्तिक पूर्णिमाका दिन पृथ्वी सूर्य तथा चन्द्रमाको बीचबाट गुज्रिनेछ जसबाट चन्द्रमाको सतहमा छायाँ पर्नेछ।

नासाका अनुसार लगभग खग्रास रहने उक्त चन्द्रग्रहण नेपाली समयअनुसार दिउँसो पौने २ बजेपछि शुरु हुनेछ।

त्यतिबेला पृथ्वीले पूर्णचन्द्रको ९७ प्रतिशत भागमा सूर्यको किरण पर्नबाट छेक्नेछ। यो अवधिमा चन्द्रमाको रंग रातो हुनेछ भने यसलाई संसारका धेरै भागबाट देख्न सकिने बताइएको छ।

यसलाई आसाम तथा अरुणाचल प्रदेशलगायत भारतको उत्तरपूर्वी क्षेत्रबाट देख्न सकिने भएकाले नेपालका केही भागबाट पनि देख्न सकिने आकलन गरिएको छ।

उक्त अवधिमा सबैभन्दा राम्ररी उत्तर अमेरिकाबाट देख्न सकिने बताइएको छ। यसबाहेक अमेरिकाका सबै ५० राज्य तथा मेक्सिकोबाट पनि यसलाई राम्ररी अवलोकन गर्न सकिने जनाइएको छ।

यसका साथै अस्ट्रेलिया, पूर्वी एसिया, उत्तरी यूरोप तथा प्रशान्त महासागरीय क्षेत्रबाट पनि हेर्न सकिनेछ। नासाका अनुसार उक्त चन्द्रग्रण ३ घण्टा २८ मिनेट तथा २३ सेकेन्डसम्म लाग्ने र यो समय सन् २००१ देखि २१०० सम्मको १०० वर्षको सबैभन्दा लामो समय हुनेछ।

easy care

प्रकाशित: २२ कार्तिक २०७८, सोमबार