२०२३ सम्म आफ्नो प्लेटफर्ममा ५० हजार टेस्ला गाडी समावेश गर्ने उबरको लक्ष्य

Technology Khabar ११ कार्तिक २०७८, बिहीबार

२०२३ सम्म आफ्नो प्लेटफर्ममा ५० हजार टेस्ला गाडी समावेश गर्ने उबरको लक्ष्य

काठमाडौं ।

उबरले आफ्ना चालकहरुलाई भाडामा दिनका लागि ५० हजार टेस्ला गाडीहरु बन्दोबस्त गर्ने भएको छ।

सन् २०३० सम्म अमेरिकामा आफ्ना नेटवर्कमा विद्युतीय गाडीहरु मात्र राख्ने महत्वाकांक्षी लक्ष्य अनुरुप कम्पनीले यो निर्णय गर्न लागेको बुझिएको छ।

कम्पनीले कार भाडामा दिने कम्पनी हर्जसँग मिलेर काम गरिरहेको र हर्ज कम्पनीले १ लाख टेस्ला अर्डर गरेको बताइएको छ।

विश्वका कार कम्पनी तथा यातायात सेवा प्रदायकहरु नियामकको मातहतमा आउने र पेट्रोलियम गाडीहरु बिस्तारै हटाउँदै लैजाने नियामकले नीति लिन थालेपछि दबाब आएर यो निर्णय गरेको बुझिएको छ।

अमेरिकाको सबैभन्दा ठूलो अटो बजार क्यालिफोर्नियाले उबर तथा लिफ्टजस्ता राइड-हेलिङ कम्पनीहरुले आफ्ना नेटवर्कमा सन् २०३० भित्र कम्तीमा ९० प्रतिशत विद्युतीय गाडी राख्नुपर्ने नियम लागू गर्न लागेको छ।

उबरले सन् २०१६ यता हर्जसँग मिलेर आफ्ना गाडी नहुने चालकहरुलाई भाडामा कार बन्दोबस्त गर्दै आइरहेको छ। तर कुनै विशेष कार भाडामा दिनका लागि भने हालसम्म साझेदारी भएको छैन।

आगामी नोभेम्बर १ बाट लस एञ्जल्स, सान फ्रान्सिस्को, सान डियगो तथा वाशिङ्टन डीसीमा बस्ने उबर चालकहरुले हर्जमार्फत् टेस्ला मोडल ३ गाडी प्रति हप्ता ३३४ डलरका दरले भाडामा लिन पाउने भएका छन्। यो रकममा बीमा र मर्मत खर्च पनि समावेश हुन्छ।

कार्यक्रम शुरु भएपछि यो दर घटेर प्रति हप्ता २९९ डलरसम्म आइपुग्ने उबरको भनाइ छ।

कम्पनीका अनुसार आउँदा हप्ताहरुमा यो कार्यक्रम देशैभर विस्तार हुने र सन् २०२३ भित्र आफ्नो नेटवर्कमा ५० हजार टेस्ला कार समावेश गर्ने लक्ष्य रहेको छ।

Sajilo Visa

प्रकाशित: ११ कार्तिक २०७८, बिहीबार

तपाइको प्रतिक्रिया

ताजा समाचार