आइसिटी अवार्ड २०२१ मा उत्कृष्ट ५ को घोषणा, सर्वोत्कृष्ट छनौटको लागि पब्लिक भोटिङ शुरु हुँदै

Technology Khabar १० कार्तिक २०७८, बुधबार

आइसिटी अवार्ड २०२१ मा उत्कृष्ट ५ को घोषणा, सर्वोत्कृष्ट छनौटको लागि पब्लिक भोटिङ शुरु हुँदै
NTC_Advt

सूचना तथा सञ्चार प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा परिचित ‘आइसिटी अवार्डको २०२१’ केही विधामा उत्कृष्ट ५ को घोषणा गरिएको छ।

छैटौं संस्करणको एफवान सफ्ट आइसिटी अवार्ड २०२१ को छनौट प्रक्रिया अन्तर्गत विभिन्न ११ विधामध्ये ३ महत्वपूर्ण विधामा जुरी समितिको छनौट प्रक्रिया मार्फत उत्कृष्ट ५ को घोषणा गरिएको हो।

ह्वावे स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड २०२१ विधामा गत शनिवार आयोजना भएको प्रिजेन्टेशन एण्ड स्पिड डेटिङ सेसन मार्फत उत्कृष्ट ५ को छनोट गरिएको हो । छनोटमा परेका उत्कृष्ट ५ ले नोभेम्बर १ देखि शुरू हुने पब्लिक भोटिङ (ई–सेवा र एसएमएस)मा सहभागि हुनु पर्नेछ। यसैगरी यसअघि छनौट भएका ३ विधामा उत्कृष्ट १० सबैका लागि पब्लिक च्वाइस आइसिटी अवार्ड विधा पनि खुल्ला गरिएको छ। जुरीको छनौट, पब्लिक भोटिङ र फिल्ड भिजट समेत सम्पन्न गरी आयोजकले ग्राण्ड फिनाले कार्यक्रममा सर्वोत्कृष्ट घोषणा गर्नेछ।

छनोट भएको उत्कृष्ट ५ स्टार्टअप कम्पनीहरू डुलुवा एक्सपेडिसन्स प्रा.लि, हाउस अफ बुक्स प्रा.लि, खेती भेन्चर प्रा.लि, निर्वाण साथी टेक्नोभेसन प्रा.लि र पुर्याउ सर्भिसेस प्रा.लि रहेका छन् । स्टार्टअप आइसिटी अवार्ड २०२१ विधामा ५० बढी आइसिटी स्टार्टअप कम्पनीहरूको नोमिनेशन प्राप्त भएको थियो। विभिन्न ३ चरणको छनोट पश्चात् उत्कृष्ट ५ छनोट गरिएको आयोजकले जनाएको छ।

प्रडक्ट आइसिटी अवार्ड २०२१ को लागि उत्कृष्ट ५ मा छनोट भएका प्रडक्टहरुमा बगभी, आइएमएस डिस्ट्रिब्युसन म्यानेजमेन्ट सिस्टम, मिखा, प्लान्टस्याट र सायक रहेका छन् । यस विधामा ४० बढी आइसिटी प्रडक्टहरूको नोमिनेशन प्राप्त भएको र ३ चरणको छनौट पश्चात् उत्कृष्ट ५ को घोषणा गरिएको आयोजकले जानकारी दिएको छ।

राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड २०२१ को लागि छनोट भएका उत्कृष्ट ५ इन्नोभेसनहरुमा आक्स माट्ररव, आइओटी ब्यास्ड इकोनोमिकल एयर प्युरिफायर फर द ग्लोबल साउथ, मुसोर, ओपन प्लास्टपेपर र रेन्ट अ बाइक रहेका छन्। यस वर्ष राइजिङ स्टार इन्नोभेसन विधामा ६० बढीको नोमिनेशन प्राप्त भएको थियो।

यी ३ विधा बाहेक अवार्डमा पायोनियर आइसिटी अवार्ड, नेपाली डायस्पोरा आइसिटी अवार्ड, आन्टरप्रेनर आइसिटी अवार्ड, वुमन आइकन आइसिटी अवार्ड गरी ४ विधा व्यक्तिको लागि समावेश गरिएको छ । यसैगरी डिजिटल एजुकेशन आइसिटी अवार्ड (पब्लिक सेक्टर), डिजिटल एजुकेशन आइसिटी अवार्ड (प्राइभेट सेक्टर), डिजिटल गभर्नेन्स आइसिटी अवार्ड (पब्लिक सेक्टर) र डिजिटल सर्भिसेस आइसिटी अवार्ड (प्राइभेट सेक्टर) सरकारी र नीजि क्षेत्रका संस्थाहरूलाई लक्षित गरिएको छ । यी सबै विधाहरूमा नोमिनेशन पश्चात् छनौट जारी रहेको छ।

एफवान सफ्ट आइसिटी अवार्ड २०२१ इन एशोसिएशन विथ जिनस, पावर्ड वाई ह्वावे २०२१ का लागि विभिन्न ११ विधामा ४०० बढीको नोमिनेशन प्राप्त भएको आयोजकले जनाएको छ। अन्य ८ विधामा विभिन्न चरणको छनौट प्रक्रिया जारी रहेको आयोजक लिभिङ विथ आइसिटीले जनाएको छ।

प्रकाशित: १० कार्तिक २०७८, बुधबार