‘सभ्य इन्टरनेट’ बनाउनेतर्फ प्रयास केन्द्रित गर्ने चिनियाँ नियामकको भनाइ

Technology Khabar १० कार्तिक २०७८, बुधबार

‘सभ्य इन्टरनेट’ बनाउनेतर्फ प्रयास केन्द्रित गर्ने चिनियाँ नियामकको भनाइ
NTC_Advt

चीनले इन्टरनेटलाई सभ्य प्लेटफर्मको रुपमा विकसित गर्न ध्यान केन्द्रित गर्ने भएको छ।

चीनले अनलाइन व्यवहारलाई नयाँ रुप दिने तथा यसलाई नयाँ पार्टीको सिद्धान्त र समाजिक मूल्यमान्यता साझा गर्ने थलोका रुपमा विकसित गर्ने उद्देश्यले ‘सभ्य’ इन्टरनेट बनाउन अझ बढी मेहनत गर्ने साइबर स्पेस नियामकले बताएका छन्।

साइबरस्पेश एडमिनिस्ट्रेसन अफ चाइना सीएसीका प्रमुख झ्वाङ रोङ्ग्वेनले यस्ता प्रयासहरु ‘आधुनिक समाजवादी राष्ट्र’ निर्माणका लागि निकै महत्वपूर्ण हुने बताए।

उनले बुधबार स्टडी टाइम्स नामक समाचारपत्रमा छापिएको एउटा लेखलाई उद्धृत गर्दै चीनमा १ अर्बभन्दा बढी इन्टरनेट प्रयोगकर्ताहरु रहेको यो विश्वकै सबैभन्दा ठूलो डिजिटल समाजका रुपमा रहेको पनि उल्लेख गरे।

सेन्ट्रल पार्टी स्कूलले प्रकाशन गर्ने द स्टडी टाइम्सले सत्तारुढ कम्युनिस्ट पार्टीका उदीयमान अधिकारीहरुलाई तालिम प्रदान गर्ने गर्छ। सीएसीले यो लेखलाई आफ्नो आधिकारिक विच्याट एकाउन्टमा रिपोस्ट गरेको थियो।

पार्टीले इन्टरनेटको सञ्चार सहजीकरणको फाइदा उठाउनुपर्ने भन्दै उनले इन्टरनेटलाई पार्टीको नवीन सिद्धान्तहरु सर्वसाधारणको घरसम्म पुर्याउनमा उपयोग गर्नुपर्ने विचार व्यक्त गरे।

राम्रा रोल मोडलहरुको प्रचार प्रसार बढी गर्नुपर्ने तथा युवा इन्टरनेट प्रयोगकर्ताहरुमा साइबर बुलिङ जस्तो व्यवहारको सट्टा राम्रो साइबरस्पेश आचरण निर्माण गर्न मार्गनिर्देश गर्नुपर्ने भन्दै उनले इन्टरनेट सेवा प्रदायकहरुले आफ्नो आत्म-अनुशासनमा सुधार ल्याउनुपर्ने बताए।

वर्षोदेखिको वृद्धि र अथाह परिवर्तनपद्छि चीनका नियामकहरुले समाज तथा साइबरस्पेसमाथिको नियन्त्रणमा मजबुत बनाउने भएका हुन्।

हालैका महिना हरुमा नियामकहरुले प्रविधि तथा अन्य क्षेत्रमा निकै कडाइ गर्दै आइरहेका छन्।

स्टेट काउन्सिलले ‘सभ्य इन्टरनेट’ निर्माणका लागि अघिल्लो वर्ष प्रकाशन गरेको नियमावलीमा साइबरस्पेस सत्तारुढ कम्युनिस्ट पार्टीको बारेमा शिक्षा प्रदान गर्नका लागि प्रयोग गरिनुपर्ने उल्लेख छ।

प्रकाशित: १० कार्तिक २०७८, बुधबार