बागमती प्रदेश सरकारले सामुदायिक विद्यालयहरुमा आईसीटी ल्याब बनाउने

Technology Khabar १० कार्तिक २०७८, बुधबार

बागमती प्रदेश सरकारले सामुदायिक विद्यालयहरुमा आईसीटी ल्याब बनाउने
सांकेतिक
NTC_Advt

बागमती प्रदेश सरकारले आफ्ना प्रदेशभित्रका सरकारी विद्यालयहरुमा सूचना प्रविधि प्रयोगशाला (आईसीटी ल्याब) स्थापना गरिदिने भएको छ।

प्रदेश सरकारअन्तरगत शिक्षा विकास निर्देशनालयले सामुदायिक माध्यमिक विद्यालयहरुलाई सूचना प्रविधि प्रयोगशाला स्थापना गर्नुपर्ने विद्यालयहरुलाई आवेदन पठाउन भनेको छ।

निर्देशनालयले यसअघि नै तयार पारेको सामुदायिक माध्यमिक विद्यालयमा विज्ञान, विषयगत र सूचना प्रविधि प्रयोगशाला स्थापना सम्बन्धी कार्यविधि ,२०७८ अनुसार इच्छुक र योग्य विद्यालयहरुलाई सूचना प्रविधि प्रयोगशालाको लागि आवेदन दिन भनेको हो।

सो कार्यविधिअन्तरगत निर्देशनालयले योग्य विद्यालयहरुमा सूचना प्रविधि ल्याब बनाउन रकम उपलब्ध गराउने छ । जसअनुसार प्रत्येक विद्यालयलाई आईसीटी ल्याबका लागि १५ लाख रुपैयाँ उपलब्ध गराउने छ।

यसको लागि विद्यालयहरुले हालसम्म आईसीटी ल्याबका लागि कुनै योजना नपरेको प्रमाणित गर्नुपर्ने प्रावधान राखिएको छ।

निर्देशनालयका कामु निर्देशक चन्द्र प्रसाद लुइटेलले विद्यालयमा सूचना प्रविधि प्रयोगशाला बनाउन ७ करोड ९१ लाख रुपैयाँ बिनियोजन गरिएको जानकारी दिए ।

“सो रकम आईसीटी ल्याब र विज्ञान प्रयोगशाला बनाउन खर्च गर्ने गरी छुट्याएका हौं । हामीले करिब १०० विद्यालयहरुमा यस्तो ल्याबको आवेदन आउने अनुमान गरेका छौं,” उनले भने ।

यसमा अन्य सरकारी निकायले दिएको रकममा दोहोरोपना नहुनेगरी काम गरिने उनको भनाई छ। संघिय सरकारबाट वा अन्य निकायबाट आईसीटी ल्याब नपाएका र त्यस्तो कार्यक्रम नभएका विद्यालयहरुमा मात्र प्रदेश सरकारले आईसीटी ल्याब बनाउने जानकारी दिए।

“अन्य निकायहरु वा संघिय सरकारले रकम दिएको भए वा ल्याब स्थापना गरीसकेको भएमा दोहोरोपना नहुनेगरी काम गरिनेछ। विद्यालयहरुको बिबरण अपडेट गरेका छौं । यसमा स्थानीय तहले समेत सिफारिस गर्नुपर्नेछ,” कामु निर्देशक लुइटेलले भने।

निर्देशक लुइटेलले आपूर्तिकर्ताहरुले विद्यालयमा गुणस्तरहीन सामाग्री उपलब्ध नगराउन र विद्यालय प्रभावित नहोस भनेर नै उपकरणहरुको रोस्टर बनाएको बताए ।

“हामीले किनेका सामाग्रीहरु गुणस्तीय र मापदण्डअनुसार होस भनेर नमुना समेत परीक्षण गर्नुपर्ने प्रावधान राखेका छौं । यसमा स्थानीय सूचना अधिकृतको नेतृत्वमा अनुगमन समेत गरीनेछ,” उनले भने ।

उनले बागमती प्रदेशभित्र ११९ स्थानीय तह भएको र त्यहाँ भएका विद्यालयहरुले आवेदन दिनसक्ने जानकारी दिए ।

निर्देशनालयकी सूचना अधिकृत शारदा मैनालीले यसको लागि कार्यविधि तयार पारिएको र सो कार्यविधिलाई आधार मानिने बताईन् ।

“हामीले कार्यविधिअनुसार मात्र विद्यालयलाई आईसीटी ल्याब बनाउन दिनेछौं । उनीहरुलाई मापदण्डमा परेको आधारमा मात्र ल्याब बनाउने हो,” उनले भनिन्, “यसको लागि कार्यविधि पालना गर्ने र पछि निर्देशनालयले आवेदन दिने विद्यालयहरुको अनुगमन समेत गर्ने छ।”

हाल आईसीटी ल्याब बनाउने र पछि विज्ञान ल्याब तथा विषयगत ल्याबहरु समेत बनाउने निर्देशनालयको योजना रहेको छ।

आईसीटी ल्याब माग गर्ने विद्यालयले आफ्नो विद्यालयको बारेमा बिस्तृत जानकारीसहित आवेदन दिनुपर्नेछ। जसमा सो आईसीटी ल्याबले हुने लाभ र उपयोगीतालगायतका विषयहरुको बारेमा समेत उल्लेख गर्नुपर्नेछ।

यसको लागि निर्देशनालयले सार्वजनिक सूचनामार्फत १५ दिनभित्र आवेदन दिन आग्रह गरेको छ।

यस्तो छ सामुदायिक माध्यमिक विद्यालयमा विज्ञान, विषयगत र सूचना प्रविधि प्रयोगशाला स्थापना सम्बन्धी कार्यविधि ,२०७८ :-

20211021032454375-बिषयगत प्रयोगशाला

प्रकाशित: १० कार्तिक २०७८, बुधबार