विगत ५ वर्षमा फिक्स्ड र मोबाइल ब्रोडब्यान्डमध्ये कुनका प्रयोगकर्ता बढे? यस्तो छ प्रवृत्ति

Technology Khabar १० कार्तिक २०७८, बुधबार

विगत ५ वर्षमा फिक्स्ड र मोबाइल ब्रोडब्यान्डमध्ये कुनका प्रयोगकर्ता बढे? यस्तो छ प्रवृत्ति
NTC_Advt

नेपालमा पछिल्लो ५ वर्षमा ब्रोडब्यान्ड इन्टरनेट सेवा लिने ग्राहकरुमध्ये फिक्स्ड तथा मोबाइल ब्रोडब्यान्ड उपभोग गर्नेको सङ्ख्या मिश्रित रुपमा घटबढ हुँदै अघि बढेको पाइएको छ।

हालै नेपाल दूरुञ्चार प्राधिकरणले जारी गरेको वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७३/७४ मा ब्रोडब्यान्ड इन्टरनेट सेवा लिने ग्राहकको सङ्ख्या १ करोड ६१ लाख ८६ हजार ७५९ जना रहेकामा २०७४/७५ मा आइपुग्दा त्यो समग्र सङ्ख्या घटेर १ करोड ४९ लाख ८१ हजार ५८० मा आइपुग्यो।

तर अर्को आर्थिक वर्ष अर्थात् २०७५/७६ मा भने घट्ने क्रममा नगएर उक्त सङ्ख्यामा लोभलाग्दो वृद्धिसहित १ करोड ९४ लाख ४१ ७१० पुग्यो।

त्यस पछि भने यो बढ्ने क्रम रोकिएको छैन बरु यसको रेखाचित्र निरन्तर उकालो लागेको देखिन्छ।

आर्थिक वर्ष २०७६/७७ मा पनि यो सङ्ख्यामा उल्लेख्य वृद्धि भएर २ करोड १८ लाख ३ हजार ३४५ पुग्यो। यो प्रवृत्ति अझै सकारात्मक रुपल अगाडि बढ्ने क्रममा २०७७/७८ मा यो समग्र सङ्ख्या ३० करोड ९९ लाख ३ हजार १८५ मा पुगेको छ।

समग्र सङ्ख्यामा दोस्रो आर्थिक वर्ष बाहेक बाँकी सबैमा सकारात्मक अर्थात् वृद्धिको आँकडा देखिए पनि फिक्स्ड तथा मोबाइल ब्रोडब्यान्डको सङ्ख्यामा भने प्रवृत्ति उस्तै वा फरक पनि देखिन सक्छ।

फिक्स्ड ब्रोडब्यान्ड: निरन्तर उकालो

नेपाल दूरसञ्चार प्राधिकरणको वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७३/७४ मा फि्स्ड ब्रोडब्यान्ड लिने ग्राहकको सङ्ख्या ४ लाख ४७ हजार १८ रहेकोमा २०७४/७५ मा आइपुग्दा त्यो सङ्ख्या झण्डै ७ गुणा बढेर ३३ लाख २२ हजार ५९३ मा पुग्यो।

यो क्रम यसै रोकिएन बरु २०७५/७६ यो सङ्ख्या ९ लाख हाराहारीले थपिएर ४२ लाख १ हजार १७६ मा उक्लियो। यो प्रवृत्तिमा अझै बढोत्तरी भएर आर्थिक वर्ष २०७६/७७ मा ५५ लाख १४ हजार ९७७ तथा  २०७७/७८ मा ७७ लाख ९६ हजार २१४ पुगेको देखिएको छ।

मोबाइल ब्रोडब्यान्ड: मिश्रित प्रवृत्ति

फिक्स्ड ब्रोडब्यान्डका प्रयोगकर्ता निरन्तर बढिरहेको पाइएकोमा मोबाइल ब्रोडब्यान्डका ग्राहको प्रवृत्ति मिश्रित अर्थात् समग्र सङ्ख्याको झैं दोस्रो आर्थिक वर्षमा घटेको र त्यसपछिका वर्षहरुमा बढेको प्रतिवेदनमा उल्लेख छ।

तुलनात्मक विश्लेषणमा समावेश भएको पहिलो आर्थिक वर्ष २०७३/७४ मा मोबाइल ब्रोडब्यान्ड ग्राहक १ करोड ५७ लाख ३९ हजार ७४१ रहेकामा अर्को वर्ष यो सङ्ख्या घटेर १ करोड १६ लाख ५८ हजार ९८७ मा झरेको थियो।

तर त्यसपछिका आर्थिक वर्षहरु २०७५/७६, २०७६/७६ तथा २०७७/७८ मा यो सङ्ख्या पनि उकालो लाग्दै गएको छ।

आर्थिक वर्ष २०७५/७६ मा मोबाइल ब्रोडब्यान्ड ग्राहक थपिएर १ करोड ५२ लाख ४० हजार ५३४ पुगे भने २०७६/७७ मा यो सङ्ख्यामा पनि थप भएर  १ करोड ६२ लाख ८८ हजार ३६९ पुगे।

तुलना गरिएकोमध्ये अन्तिम आर्थिक वर्ष अर्थात् २०७७/७८ यो सङ्ख्यामा अझै  उल्लेख्य वृद्धि भएर २ करोड २९ लाख ८५ हजार ०२७ पुगेको नेपाल दूरसञ्चार प्राधिकरणको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ।

प्रकाशित: १० कार्तिक २०७८, बुधबार