एनसेलले सरकारलाई बुझायो सबैभन्दा धेरै रोयल्टी र दस्तुर रकम, विभिन्न शिर्षकमा तिर्यो २७ अर्ब रुपैयाँ

Technology Khabar ४ कार्तिक २०७८, बिहीबार

एनसेलले सरकारलाई बुझायो सबैभन्दा धेरै रोयल्टी र दस्तुर रकम, विभिन्न शिर्षकमा तिर्यो २७ अर्ब रुपैयाँ
एनसेल आजियाटा लिमिटेडको लैनचौरमा रहेको मुख्य कार्यालय । फाइल तस्बिर

काठमाडौं ।

दुरसञ्चार सेवा प्रदायकहरुले सरकारलाई बुझाएको रोयल्टी रकममा एनसेल आजियाटा लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ मा सबैभन्दा धेरै सरकारी राजस्व र करलगायतका रकम भुक्तानी गरेको छ।

नेपाल दुरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनअनुसार एनसेलले गत आर्थिक वर्षमा मात्रै विभिन्न कर, रोयल्टी, फ्रिक्वेन्सी र ग्रामीण दूरसञ्चार विकास कोषमा जम्मा गर्ने रकमसहित सबै गरेर करिब २७ अर्ब रुपैयाँ सरकारलाई विभिन्न शिर्षकहरुमा बुझाएको छ।

सो वार्षिक प्रतिवेदनमा एनसेलको बारेमा दिईएको जानकारीअनुसार कम्पनीले आर्थिक वर्ष २०७७/७८मा २ अर्ब २१ करोड १३ लाख ५७ हजार ३२३ रुपैयाँ रोयल्टी बापत सरकारलाई बुझाएको छ।

यो रकम दूरसञ्चार सेवा प्रदायकहरुले बुझाएको रकम मध्ये सबैभन्दा धेरै हो।

सरकारी दूरसञ्चार कम्पनी नेपाल टेलिकमले १ अर्ब ३८ करोड ९३ लाख ३३ हजार ३८४ रुपैयाँ रोयल्टी रकम नेपाल सरकारलाई बुझाएको छ।

इन्टरनेट सेवा प्रदायक (आइएसपी) मा सबैभन्दा बढि रकम वर्ल्डलिंकले बुझाएको छ। वर्ल्डलिंकले ११ करोड ८२ लाख रुपैयाँ बुझाएको छ भने सुविसुले ५ करोड ७० लाख रकम सरकारलाई रोयल्टीमार्फत बुझाएको छ।

त्यसैगरी वार्षिक प्रतिवेदनको विवरणअनुसार एनसेलले ९३ करोड ४८ लाख ९५ हजार ४ सय २९ रुपैयाँ ग्रामीण दूरसञ्चार विकास कोषमा बुझाएको बुझाएको छ। प्रतिस्पर्धी कम्पनी नेपाल टेलिकमले भने ६९ करोड ४६ लाख ६६ हजार ६ सय ९२ रुपैयाँ ग्रामीण दूरसञ्चार विकास कोषमा बुझाएको छ।

यसका साथै इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकले ५ करोड ९१ लाख १२ हजार ३ सय रुपैयाँ ग्रामीण दुरसञ्चार कोषमा बुझाएको छ।

एनसेलले सो आर्थिक वर्षमा मुल्य अभिवृद्धि कर बापत ५ अर्ब ५१ करोड ४३ लाख ७२ हजार ६१७ रुपैयाँ सरकारलाई तिरेको छ भने दूरसञ्चार सेवा शुल्क बापत ४ अर्ब ६९ करोड ६१ लाख १४ हजार १५ रुपैयाँ, फ्रिक्वेन्सी रकम बापत १ अर्ब ५९ करोड ९१ लाख ३१ हजार ६ सय रुपैयाँ तथा अन्य कर/महसुल बापत करिब १२ अर्ब ९६ करोड ६२ लाख ५४ हजार १ सय ७२ रुपैयाँ भुक्तानी गरेको उल्लेख छ।

यसअनुसार एनसेलले कुल २६ अर्ब ९८ करोड ७२ लाख २९ हजार ७२७ रुपैयाँ सरकारलाई विभिन्न शिर्षकहरुमा बुझाएको छ ।

एनसेलमा अहिले ५४० कर्मचारी कार्यरत रहेको प्राधिकरणको प्रतिवेदनमा उल्लेख गरेको छ । कम्पनीले टूजी, थ्रीजी र फोरजी मोबाइल सेवा नेपालभर प्रदान गर्दै आईरहेको छ।

easy care

प्रकाशित: ४ कार्तिक २०७८, बिहीबार

ताजा समाचार