Technology Khabar २६ आश्विन २०७८, मंगलवार
काठमाडौं ।
नेपाल दूरसञ्चार प्राधिकरणले गत आर्थिक वर्ष २०७७/७८ मा ७ अर्ब नेपाली रुपैयाँभन्दा बढीको विदेशी मुद्रा सिफारिस गरेको छ।
दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले आफ्ना सेवा सञ्चालन तथा बिस्तार गर्नका लागि आवश्यक विभिन्न उपकरण तथा सेवाहरु विदेशबाट नै आयात गर्नुपर्ने भएकाले विदेशी मुद्राको प्रयोग हुने गर्छ।
दूरसञ्चार तथा इन्टरनेट सेवाका क्षेत्रमा सफ्टवेयर तथा हार्डवेयर गरी थुप्रै पार्टपुर्जा तथा सेवाहरुको प्रयोगबाट सेवा प्रदान गरिन्छ। अधिकांश प्राविधिक पार्टपुर्जा तथा परामर्श सेवासमेत विदेशी संस्थाहरु मार्फत् उपलब्ध हुन्छन्।
यी सबै सेवा तथा पार्टपुर्जा आयातका लागि एलसी अर्थात् प्रतीतपत्र खोल्नुपर्ने र यसका लागि विदेशी मुद्रा विशेष गरी अमेरिकी डलरको आवश्यकता पर्दछ।
विदेशी मुद्रा अनावश्यक रुपमा अपचलन नहोस् भन्ने हिसाबले राज्यले नै यसको सीमा तोक्नेदेखि अन्य नियमनकारी भूमिका निर्वाह गरेको हुन्छ।
नेपालमा पनि दूरसञ्चार क्षेत्रको नियामक संस्था नेपाल दूरसञ्चार प्राधिकरणले रितपूर्वक आएका निवेदनका आधारमा जाँच पड्ताल गरेर यस्ता दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायकहरुलाई विदेशी मुद्रा कारोबार गर्नका लागि रकमसहित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत नेपाल राष्ट्र बैंकमा सिफारिस गर्छ।
यसरी गरिएको सिफारिस स्वीकृत भएपछि मात्रै ती संस्थाहरुले आवश्यक सामग्री तथा सेवा खरिदका लागि प्रक्रिया अघि बढाउन सक्छन्।
अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा नेपाल दूरसञ्चार प्राधिकरणले १३ ओटा संस्थालाई विदेशी मुद्रा प्रयोगका लागि सिफारिस गरेको छ।
सबैभन्दा बढी एनसेलका नाममा
गत आर्थिक वर्षमा सिफारिस भएको ७ अर्ब ९ करोड ६६ लाख ९२ हजार ८८३ रुपैयाँ बराबरको विदेशी मुद्रामध्ये सबैभन्दा बढी अर्थात् ४८.११ प्रतिशत एनसेलको नाममा रहेको छ। यो रकम नेपाली मुद्रामा ३ अर्ब ४१ करोड ४२ लाखको हाराहारी हुन आउँछ।
यसै गरी वर्ल्डलिंक कम्युनिकेशनले २३.४१ प्रतिशत अर्थात् १ अर्ब ६६ करोड रुपैयाँ बराबरको सिफारिस लिएको छ।
भायनेट कम्युनिकेशन्सले ८.१८ प्रतिशत अर्थात् ५८ करोड ६ लाख रुपैयाँ बराबरको विदेशी मुद्राको सिफारिस पाएको छ।
त्यसपछि सुबिसु केबलनेटका नाममा ५ प्रतिशत अर्थात् ३६ करोड ५२ लाख रुपैयाँ हाराहारीको सिफारिस दिइएको छ।
यसै क्रममा टेकमाइन्ड्स तथा क्लासिकटेकले क्रमश: ३.२५ र ३.०१ प्रतिशत अर्थात् २३ करोड ६ लाख तथा २१ करोड ३५ लाख नेपाली रुपैयाँ बराबरको विदेशी मुद्रा प्रयोगका लागि सिफारिस गरिएको दूरसञ्चार प्राधिकरणले उल्लेख गरेको छ।
यस्तै कम्युनिकेशन एन्ड कम्युनिकेसन्स प्रालिले १८ करोड रुपैयाँ बराबरको तथा नेपाल टेलिकमले १६ करोड ६३ लाख रुपैयाँ बराबरको सिफारिस पाएका छन्। यी दुवै संस्थाको भागमा परेको सिफारिस रकम समग्र रकमको क्रमश २.५४ र २.३४ प्रतिशत हुन आउँछ।
यसरी विदेशी मुद्रा प्रयोगका लागि सिफारिस पाएका १३ संस्थामध्ये ब्रोडलिंक नेटवर्क कम्युनिकेशनका नाममा १.३४ प्रतिशत अर्थात् साढे नौ करोड तथा नेपाल डिजिटल सर्भिस प्रालिका नाममा १.७३ प्रतिशत अर्थात् १२ करोड २४ लाख रुपैयाँको हाराहारी सिफारिस गरिएको छ।
सूचीमा सबैभन्दा कम अर्थात १ प्रतिशतभन्दा कम रकम बराबरको सिफारिस पाउनेमा मर्कन्टाइल कम्युनिकेशनको रकम समग्र रकमको ०.६८ तथा कन्स्टेलेशन प्रालिको नाममा ०.१८ प्रतिशत रहेको छ।
१३ कम्पनीमध्ये सबैभन्दा कम रकम सिफारिस हुनेमा फर्स्टलिंक कम्युनिकेशन परेको छ।
फर्स्टलिंकले नेपाल दूरसञ्चार प्राधिकरणबाट समग्र रकमको ०.११ प्रतिशत अर्थात् ७४ लाख ७४ हजार रुपैयाँ बराबरको विदेशी मुद्राको सिफारिस लिएको छ।
प्रकाशित: २६ आश्विन २०७८, मंगलवार