पाँच सय वटा चार्जिङ स्टेशन निर्माण गर्नका लागि १५० आवेदन

Technology Khabar १६ आश्विन २०७८, शनिबार

पाँच सय वटा चार्जिङ स्टेशन निर्माण गर्नका लागि १५० आवेदन

काठमाडौं ।

देशभर ५ सय वटा चार्जिङ स्टेशन निर्माण गर्न केही दिनमा नै १५० हाराहारी आवेदन प्राप्त भएको छ।

चालु आर्थिक वर्षमा देशभरका विभिन्न निजी संस्थाहरुसँग सहकार्य गरी ५ सय वटा चार्जिङ स्टेशन निर्माण गर्न नेपाल विद्युत प्राधिकरणले आशय पत्र माग गरेको केही दिनमा नै १५० हाराहारी आवेदन प्राप्त भएको चार्जिङ स्टेशन आयोजनाका प्रमुख सागरमणी ज्ञवालीले जानकारी दिएका छन् ।

अहिलेसम्म १५० भन्दा बढीले चार्जिङ स्टेशन बनाउन आवेदन दिएको र जति आउँछन्, सबैलाई हामी सहयोग गर्दै जाने आयोजना प्रमुख ज्ञवालीले बताए ।

नेपाल विद्युत प्राधिकरणले आवश्यकता अनुसार देशभरका राजमार्ग, बसपार्क, सपिङ मल, सिनेमा भवन, शिक्षण संस्था, अस्पताल, होटल, रेष्टुरेन्ट एवं अन्य सार्वजनिक स्थलमा चार्जिङ स्टेसन निर्माण गर्न इच्छुक निजी तथा सार्वजनिक संस्थासँग सहकार्यका लागि सूचना जारी गरेको थियो।

प्राधिकरणले चार्जिङ स्टेशन बनाउने संस्थालाई विद्युतीय तार, ट्रान्सफर्मर लगायतका भौतिक पूर्वाधारका सामग्री निःशुल्क उपलब्ध गराइने जनाएको छ । यसरी बन्ने चार्जिङ स्टेशनमा १०/१२ वटा गाडी चार्ज हुनेगरी स्टेशन निर्माण गर्नु पर्ने ज्ञवालीले उल्लेखख गरे।

यस्ता चार्जिङ स्टेशनहरुले विद्युतको मूल्यमा अतिरिक्त २० प्रतिशतसम्म नाफा राखेर विजुली विक्री गर्न सक्नेछन् । बिजुलीको मूल्य समय अनुसार ४ रुपैयाँदेखि ११ रुपैयाँसम्म निर्धारण भइसकेको छ।

यसरी निर्माण हुने चार्जिङ स्टेशन सकभर सबै किसिमका साधनको लागि उपयोगी हुनेगरी तयार पारिने प्राधिकरणले बताउँदै आएको छ।

easy care

प्रकाशित: १६ आश्विन २०७८, शनिबार