Technology Khabar ५ आश्विन २०७८, मंगलवार
काठमाडौं ।
गुगल तथा एप्पलले एप स्टोरले ८ लाखभन्दा बढी एपहरु डिलिट गरेका छन्।
पिक्सलेटले जारी गरेको ‘एच१ २०२१ डिलिस्टेड मोबाइल एप रिपोर्ट’ मा यो वर्षको पहिलो ६ महिनामा गुगल र एप्पलका एपस्टोरबाट ८ लाख १३ हजारभन्दा बढी एपहरु हटाइएको उल्लेख छ।
यीमध्ये ८६ प्रतिशत एपहरु १२ वर्षमुनिका बालबालिकासँग सम्बन्धित रहेको बताइएको छ।
पिक्सलेट सीटीभी तथा मोबाइल एडभरटाइजिङका लागि अग्रणी जालसाजी सुरक्षा, गोपनीयता तथा गुनासासम्बन्धी विश्लेषण गर्ने संस्था हो।
पिक्सलेटले शेयर गरेको तथ्याङ्क कम्पनीको आफ्नै प्रविधि तथा विश्लेषणमा आधारित हुन्छ जसलाई आफूहरुले निरन्तर रुपमा मूल्याङ्कन तथा अद्यावधिक गरिरहने कम्पनीको दावी छ।
गुगल तथा एप्पलका स्टोरबाट एप डिलिट हुनु वा सूचीबाट हट्नुमा थुप्रै कारण हुन सक्छन् जसमा स्टोरको नीति उल्लङ्घन तथा डेभलपरले हटाउने चाहनालगायतका हुने रिपोर्टमा उल्लेख छ।
पिक्सलेटको रिपोर्टमा गुगल र एप्पलका एप स्टोरमा रहेका ५० लाख एपहरुको विश्लेषण गरिएको बताइएको छ।
यसबाहेक ती एपहरु सूचीबाट हटाउनुअघि एप स्टोरमा लगभग २ करोडभन्दा बढी उपभोक्ताको रिभ्यू रहेको रिपोर्टमा उल्लेख छ।
यी एपहरु एप स्टोरको सूचीबाट हटाइए पनि अझै लाखाैं यूजरको मोबाइलमा इन्स्टल भएको हुनसक्ने रिपोर्टमा उल्लेख छ।
प्रकाशित: ५ आश्विन २०७८, मंगलवार