Technology Khabar ५ आश्विन २०७८, मंगलवार
काठमाडौं ।
क्यान महासंघले नेपाल विद्युत प्राधिकरणलाई पोल भाडा दर बढाउने निर्णय फिर्ता लिन अनुरोध गरेको छ। सूचना प्रविधि क्षेत्रका विज्ञ तथा व्यवसायीहरुको छाता संगठन क्यान महासंघले हालै प्रेस विज्ञप्ती जारी गर्दै पोल तथा ओपिजीडब्लू भाडादर बढाउने निर्णय फिर्ता लिन अनुरोध गरेको हो ।
जसमा २०७७ भदौ ५ गतेको निर्णयअनुरुप भाडादर पुरानो आवहरुको र हालैको लागु गर्न माग गरेको छ । त्यसैगरि पहिलोको अवस्था अनुरुप नै भाडादर प्रति पोलका दरले कायम गर्नका लागि समेत भनेको छ ।
प्रति किलोमिटरका दरले पोल भाडादर कायम गर्दा इन्टरनेट सेवा प्रदायक, आम उपभोक्ता तथा डिजिटल नेपाल अभियानकै लागि ब्यबहारिक नहुने क्यान महासंघको ठम्याई छ।
साथै सो सम्बन्धि निर्णयका निम्ति सम्बन्धित पक्षहरुविच बैठक र छलफलहरु भैरहेको अवस्थामा भरतपुर लगायत देशका विभिन्न ठाउँहरुबाट इन्टरनेट सेवा प्रदायकहरुका दुरसंचार उपकरणहरु विना अनुमति निकाल्नेरलैजाने, इन्टरनेट-सेवा मर्मत गर्न रोक लगाउने जस्ता क्रियाकलापहरु रोक्न तथा विना अनुमति लगिएका दुरसंचार उपकरणहरु सम्बन्धित इन्टरनेट सेवा प्रदायकहरुलाई तत्कालै फिर्ता गर्न सम्बन्धित पक्षहरुलाई क्यान महासंघ हार्दिक अनुरोध गरेको हो।
क्यान महासंघले इन्टरनेट सेवालाई सर्बसुलभ बनाउन करको दरहरुलाई विभिन्न प्रकारले समिक्षा गर्नुपर्ने र विगतका निति तथा कार्यक्रम तथा बजेटमा बारम्बार दिएको सुझाव विपरित सरकारी निकायकै गतिविधिका कारण पुर्वाधारको लागत अझ बढन गई ईन्टरनेट सेवा प्रवाहमा प्रति ग्राहक १ सय पचास देखि ३ सयसम्म शुल्क बढ्नु उचित नहुने उल्लेख गरेको छ ।
इन्टरनेट सेवा सम्बन्धि चर्को करका बाबजुत पनि नेपालमा निजी क्षेत्रबाट सेवा लिइरहेका करिव ९३ प्रतिशत ग्राहकहरुले तारसहितको इन्टरनेट सेवा अहिलेको दरमा उपभोग गर्न पाउनुमा विगतमा नेपाल विद्युत प्राधिकरणको सुझबुझपूर्ण निर्णयका कारण भएको भन्दै निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकहरुले विद्युत प्राधिकरणको पोल तथा अप्टिकल ग्राउन्ड वायर भाडा समसामयिक दरमा प्रयोग गर्नाले आमउपभोक्तालाई सर्वसुलभ दरमा इन्टरनेट सेवा प्रदान गर्न सम्भव भएको समेत उल्लेख गरेको छ।
यसका साथै क्यान महासंघले यो डिजिटल नेपाल अभियानको लागि समेत अव्यवहारीक हुने भन्दै सरकारलाई हस्तक्षेप तथा अभिभावकिय एवं नेतृत्वदायी भुमिका खेलिदिन समेत अनुरोध गरेको छ।
प्रकाशित: ५ आश्विन २०७८, मंगलवार