पोल भाडा विवाद मिलाईदिन सञ्चार मन्त्रालयसँग दूरसञ्चार प्राधिकरणको अनुरोध

Technology Khabar ५ आश्विन २०७८, मंगलवार

पोल भाडा विवाद मिलाईदिन सञ्चार मन्त्रालयसँग दूरसञ्चार प्राधिकरणको अनुरोध

काठमाडौं ।

दूरसञ्चार सेवा प्रदायकहरु र नेपाल विद्युत प्राधिकरणको बिच उत्पन्न विवाद र मूल्यवृद्धि गर्न दर्ता गरिएको पत्रलगायतका विषयहरुको बारेमा नेपाल दूरसञ्चार प्राधिकरणले सम्बन्धित मन्त्रालयलाई जानकारी गराएको छ।

सेवा प्रदायकहरुको उपकरण  विद्युत प्राधिकरणले लगेको, इन्टरनेटको तार काटिदिएको लगायतका विषयलाई सम्बोधन गर्न र समस्या समाधान सम्बन्धित मन्त्रालयलाई दूरसञ्चार प्राधिकरणले अनुरोध गरेको हो।

दूरसञ्चार क्षेत्रको नियमनकारी निकाय प्राधिकरणले आफु सम्बन्धित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पत्र दर्ता गर्दै सो बारेमा सहजीकरण गरिदिन भनेको हो।

मन्त्रालय स्रोतकाअनुसार प्राधिकरणले पत्र पठाएको र सो पत्रमा वर्तमान समस्याको बारेमा उल्लेख गरिएको छ। पत्र बिस्तृत अध्ययन गरेपछि मात्र त्यस बारेमा के गर्ने भन्ने छलफल हुने बताईएको छ।

सो पत्रमा छलफलका लागि बोलाउँदा समेत विद्युत प्राधिकरणबाट कोही प्रतिनिधि समेत नआएको जानकारी गराईएको छ भने इन्टरनेट सेवा प्रदायकले उल्लेख गरेको पत्रअनुसार विद्युत प्राधिकरणले आफ्ना उपकरणहरु लुटेर लगेको तथा इन्टरनेट सेवाको तार काटिदिँदा सेवाग्राहीहरुले समयमा सेवा नपाएको दाबी बारेमा समेत जानकारी गराईएको छ।

त्यसैगरी दूरसञ्चार ऐनअनुसार अनुमति नलिई विद्युत प्राधिकरणले दूरसञ्चार पूर्वाधारको कार्य गरेको र आफू स्वायत्त भएको भन्दै पत्र पठाएको बारेमा पनि जानकारी गराईएको छ।

विद्युत प्राधिकरणले आफूखुशी भाडादर तोक्दा इन्टरनेट सेवाको शुल्क महंगो हुने भन्दै त्यसैले अहिलेको कोभिड १९ को अवस्थामा इन्टरनेटमा आधारित स्वास्थ्य, शिक्षा,लगायतका सेवाहरुमा समेत असर पर्ने र यसले डिजिटल नेपालको अभियानमा समेत असर पर्ने बारेमा समेत उल्लेख रहेको छ। जसले आगामी दिनमा इन्टरनेटको मूल्य ५ प्रतिशतभन्दा कम राख्ने सरकारको नीतिमा समेत असर पर्ने बारेमा ध्यान दिनुपर्ने उल्लेख छ।

तार काटिदिँदा उपभोक्ताहरु सेवाबाट बन्चित हुने भन्दै त्यसमा सहजीकरण गरिदिन र ऐनअनुसार पूर्वधारको काम गर्नेगरी संयोजन गरिदिन भनेको छ।

Nepal Telecom
Sajilo Visa

प्रकाशित: ५ आश्विन २०७८, मंगलवार

ताजा समाचार