जनगणनाको लागि आधुनिक प्रविधिको प्रयोग गरिँदै

Technology Khabar ४ आश्विन २०७८, सोमबार

जनगणनाको लागि आधुनिक प्रविधिको प्रयोग गरिँदै

काठमाडौं ।

केन्द्रीय तथ्याङ्क विभागद्वारा राष्ट्रिय जनगणना २०७८ लागि काठमाडौँका छवटा स्थानीय तहमा आधुनिक प्रविधिको प्रयोगबाट जनगणना गरिने भएको छ।

काठमाडौँ महानगरपालिका, दक्षिणकाली, कीर्तिपुर, चन्द्रागिरि, नागार्जुन र तारकेश्वर नगरपालिकामा प्रविधियुक्त ट्याब्लेटको प्रयोगबाट जनगणना गर्न लागिएको हो ।

केन्द्रीय तथ्याङ्क विभागका निर्देशक ढुण्डीराज लामिछानेले जनगणनालाई प्रविधिमैत्री बनाउन र यस वर्ष प्रविधिको प्रयोग नमुनाका रूपमा काठमाडौँका छवटा स्थानीय तहमा ट्याब्लेटको प्रयोग गरिएको जानकारी दिए।

उनका अनुसार भदौ ३० देखि असोज १८ गतेसम्म भइरहेको घर तथा घर परिवारको सूचीकरण गर्ने कार्यमा पनि ट्याब्लेटकै प्रयोग भइरहेको छ । आगामी कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म हुुने मूल गणनामा पनि उक्त स्थानीय तहमा ट्याब्लेटको प्रयोग हुनेछ।

काठमाडौँमा भएका जनगणनाका पाँचवटा कार्यालयमध्ये ‘क’ नम्बरको कार्यालयअन्तर्गत पर्ने शङ्खरापुर, कागेश्वरी मनोहरा, गोकर्णेश्वर, बूढानीलकण्ठ र टोखामा भने अन्य स्थानमा जस्तै कागजकै फारम भरेर जनगणना कार्य हुँदैछ। विभागसँग सीमित मात्रामा ट्याब्लेट भएकाले अन्य सहरी क्षेत्रमा ट्याब्लेट प्रयोग गर्न नसकिएको विभागले जनाएको छ।

गत भदौ ३० गतेदेखि भइरहेको घर तथा घरपरिवार सूचीकरण कार्यका लागि आठ हजार ५०० जना सुपरिवेक्षक खटिएको विभागले जनाएको छ। ती सुपरिवेक्षकले यस अवधिमा करिब ७० लाख घर तथा घरपरिवारको गणना गर्दैछन् ।

एक जना सुपरिवेक्षकले ८०० देखि एक हजार घर तथा घरपरिवारको तथ्याङ्क सङ्कलन गर्नुपर्छ। देश विकासको मेरुदण्डका रूपमा रहेको जनगणनामा आउने सुपरिवेक्षक र गणकलाई सही तथ्याङ्क उपलब्ध गराउनु सबैको दायित्व भएकाले सुपरिवेक्षकलाई आवश्यक सहयोग गर्न उनले आग्रह गरे।

सरकारले यस वर्षको जनगणनाको नारा ‘मेरो जनगणना मेरो सहभागिता’ भन्ने तय गरेको छ। गोरखापत्र

easy care

प्रकाशित: ४ आश्विन २०७८, सोमबार