सुर्खेतमा इन्टरनेट तथा केबुलका अव्यवस्थित तारहरु सात दिन भित्र हटाउन निर्देशन

Technology Khabar ३० भाद्र २०७८, बुधबार

सुर्खेतमा इन्टरनेट तथा केबुलका अव्यवस्थित तारहरु सात दिन भित्र हटाउन निर्देशन
फाइल

जिल्ला प्रशासन कार्यालय सुर्खेतले विद्युत् र नेपाल टेलिकमका पोलहरुबाट इन्टरनेट तथा केबुल नेटवर्कले जडान गरेका तर प्रयोग नभएका अव्यवस्थित तार सात दिनभित्र हटाउन सेवाप्रदायकलाई निर्देशन दिएको छ।

अव्यवस्थित र अनावश्यक तारले वीरेन्द्रनगरको सौन्दर्य घटाएको र दुर्घटना निम्त्याउने गरेको भन्दै प्रशासनले त्यस्ता तार हटाई भूमिगत व्यवस्थापन गर्न निर्देशन दिएको हो।

प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको अध्यक्षतामा इन्टरनेट तथा केबुल नेटवर्कका तार व्यवस्थापन गर्ने सम्बन्धमा बसेको बैठकले नेपाल टेलिकम र नेपाल विद्युत् प्राधिकरणले प्रयोग नभएका, सडेगलेका एवं स्थानान्तरण गरी सडकमै छाडिएका पोलहरु तत्काल व्यवस्थापन गर्न निर्देशन दिएको छ।

जमिनबाट कम उचाइमा रहेका, लत्रिएका, प्रयोगविहीन तार हटाउन र नयाँ तार जडान गर्न नेपाल विद्युत् प्राधिकरण तथा नेपाल टेलिकमसँग अनिवार्य समन्वय गर्न आग्रह गरिएको छ।

इन्टरनेट तथा केबुल नेटवर्क सेवा प्रदायकहरुले विकास निर्माण सम्बन्धी कार्यालयहरुसँग समन्वयन गरी लाइन अन्डरग्राउण्ड तथा व्यवस्थापन गर्न भनेको छ।

त्यस्तै, बैठकले असोज ६ गते नेपाल टेलिकम सुर्खेत कार्यालयको नेतृत्वमा जिल्ला प्रशासन, नेपाल विद्युत् प्राधिकरण, हुलाक निर्देशनालय र सेवाप्रदायक निकायका प्रतिनिधिसहितको टोलीले यो निर्देशन पालना भए नभएको स्थलगत अनुगमन गरी प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ।

TK Viber

प्रकाशित: ३० भाद्र २०७८, बुधबार

Loading...