भुक्तानी सेवा प्रदायक कम्पनीलाई न्यूनतम कारोबार र ग्राहक संख्या पुर्याउन थप एक वर्षको मौका

Technology Khabar २९ भाद्र २०७८, मंगलवार

भुक्तानी सेवा प्रदायक कम्पनीलाई न्यूनतम कारोबार र ग्राहक संख्या पुर्याउन थप एक वर्षको मौका

काठमाडौं ।

नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक कम्पनीहरुका लागि यसअघि तोकेको कारोबार तथा ग्राहक संख्याको समय सीमा थप गरेको छ। केन्द्रिय बैंकले एकीकृत निर्देशनमार्फत भुक्तानी सेवा प्रदायकहरुलाई थप सहुलियत अवधि दिँदै समयसीमा थप गरिदिएको हो।

बैंकले भुक्तानी सेवा प्रदायक कम्पनीलाई आगामी २०७९ असारसम्ममा तोकिएको न्यूनतम कारोबार र ग्राहक संख्या पुर्याउन सक्नेगरी समय थप गरेको हो।

यसअघिको भुक्तानी सेवा प्रदायक कम्पनीले २०७८ असार मसान्तसम्ममा कम्तीमा ३ लाख ग्राहक र मासिक कारोबार संख्या ३ लाख पुर्याउनुपर्ने व्यवस्था तोकिएको थियो। तर अब त्यसलाई संशोधन गर्दै बैंकले एकिकृत निर्देशिकामार्फत एक वर्षको समय थप गरिदिएको हो।

केन्द्रीय बैंकले पछिल्लो समयमा विश्वभरी महामारीको रुपमा फैलिएको कारोना भाइरसका कारण २०७८ असार मसान्तसम्म गर्नुपर्ने न्यूनतम कारोबार संख्या र पुर्याउनु पर्ने ग्राहक संख्या आगामी असार मसान्तसम्ममा पुर्याउन सकिने व्यवस्था गरेको जानकारी दिएको छ।

भुक्तानी सेवा प्रदायक कम्पनीले बैंकले तोकेको समयमा ग्राहक र कारोबार संख्या नपुर्याएको खण्डमा अनुमति खारेज समेत हुनसक्छ।

यसैगरि राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त “ख” र “ग” तथा निक्षेप संकलन गर्ने राष्ट्रियस्तरका “घ” वर्गका वित्तीय संस्थाले आफ्ना ग्राहकहरुलाई विद्युतीय भुक्तानीको माध्यमको रुपमा कम्तीमा मोबाइल बैंकिङ्ग सेवा उपलब्ध गराउनुपर्नेछ। सोका लागि २०७९ असार मसान्तसम्ममा भुक्तानी सेवा
प्रदायकको अनुमतिको लागि आवेदन दिनुपर्ने व्यवस्था कायम गरिएको छ।

easy care

प्रकाशित: २९ भाद्र २०७८, मंगलवार

ताजा समाचार