वालमार्टले क्रिप्टोकरेन्सी स्वीकार गर्ने झूटो समाचारपछि लाइटक्वाइनको मूल्य ह्वात्तै बढ्यो

Technology Khabar २९ भाद्र २०७८, मंगलवार

वालमार्टले क्रिप्टोकरेन्सी स्वीकार गर्ने झूटो समाचारपछि लाइटक्वाइनको मूल्य ह्वात्तै बढ्यो

वालमार्टले क्रिप्टोकरेन्सी स्वीकार गर्ने सम्बन्धी झूटो प्रेस विज्ञप्ति सञ्चारमाध्यममा आएपछि सोमबार लाइटक्वाइन नामको क्रिप्टोकरेन्सीको मूल्य ह्वात्तै बढेको छ।

उक्त प्रेस विज्ञप्ति एउटा वैध र आधिकारिक प्रेस च्यानलबाट प्रकाशित गरिएको र त्यसमा वालमार्टले आफ्ना डिजिटल स्टोरमा भुक्तानीका लागि क्रिप्टोकरेन्सी स्वीकार गर्ने दावी गरिएको बीबीसीले जनाएको छ।

वालमार्टले पछि अमेरिकाका सञ्चारमाध्यमहरुलाई उक्त घोषणा आधिकारिक नभएको स्पष्ट पारेको थियो। त्यतिबेलासम्म थुप्रै नाम चलेका समाचार वेबसाइट तथा प्रेस एजेन्सीहरुले यो खबरलाई फैलाइसकेका थिए।

विभिन्न कम्पनीका प्रेस विज्ञप्तिहरु प्रकाशन र प्रचार प्रसार गर्ने चर्चित ग्लोबल न्यूजवायर च्यानलमार्फत् यो घोषणा कसरी बाहिरियो भन्ने कुरा अझै प्रष्ट नभएको समाचारमा उल्लेख छ।

उक्त झूटो प्रेस वक्तव्य केही समयपछि डिलिट गरिएको थियो भने वालमार्टको आफ्नै वेबसाइटबाट पनि हटाइएको छ।

लाइटक्वाइनको भेरिफाइड ट्विटर एकाउन्टमा पनि उक्त प्रेस वक्तव्य डिलिट गरिएको पोस्ट आएको छ। घण्टोंपछि लाइटक्वाइन फाउन्डेशनले ट्वीट गर्दै वालमार्टसँग आफ्नो त्यस्तो कुनै समझदारी नभएको प्रस्ट्याएको थियो।

तर यो खबर बाहिरिएपछि लाइट्क्वाइनको मूल्य भने १२५ पाउन्डबाट बढेर १७० पाउन्ड हाराहारी पुगेको थियो। पछि फेरि यो मूल्य झरेर १२५ कै नजिक अर्थात १२८ पाउन्डमा पुगेको थियो।

यसका पछाडि कसको हात छ र यो कसरी प्रकाशित हुन पुग्यो भन्ने अझै स्पष्ट भएको छैन।

TK Viber

प्रकाशित: २९ भाद्र २०७८, मंगलवार

Loading...