एमसीसीको बारे भ्रम फैलाउन सामाजिक सञ्जालको दूरुपयोग गरिएको भन्दै साइबर ब्यूरोमा पत्राचार

Technology Khabar २९ भाद्र २०७८, मंगलवार

एमसीसीको बारे भ्रम फैलाउन सामाजिक सञ्जालको दूरुपयोग गरिएको भन्दै साइबर ब्यूरोमा पत्राचार

मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल) को कागजातहरु भन्दै सामाजिक  सञ्जालबाट नक्कली तबरको हस्ताक्षर प्रयोग गरी दूरुपयोग गरेको घट्नामा साइबर अपराधमा कारबाहीको लागि नेपाल प्रहरीसँग अनुरोध गरिएको छ ।

एमसीए–नेपालले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँग जोडेर सामाजिक सञ्जालमा अफवाह फैलाउनेलाई कारबाही गर्न माग गरेको हो। सो बारेमा अनुसन्धान गरी कारबाही गर्न साइबर ब्यूरोलाई २५ भदौमा पत्राचार गरिएको एमसीए–नेपालले जनाएको छ।

एमसीए नेपालकाअनुसार यही भदौ २३ गते ट्विटर सामाजिक सञ्जालमार्फत एमसिए–नेपाल विकास समितिका कार्यकारी निर्देशक खड्ग बहादुर विष्टको नक्कली तवरको हस्ताक्षर प्रयोग गरी एक सामग्री सम्प्रेषण गरिएको थियो ।

उक्त सामग्रीमा एमसिए–नेपाल, एमसीसी र अमेरिकी राजदूतावासका अधिकारीहरूबीच भएको भर्चुअल बैठकमा कम्प्याक्ट अनुमोदनको पक्षमा प्रचार अभियान सञ्चालन गर्नुपर्ने सुझाव दिइएको कपोलकल्पित कुरा उल्लेख गरिएको थियो । सोही सामग्रीमा केही अखबार तथा टीभीलाई परिचालन गरिनुपर्ने झुठो दाबी र नेपाल सरकार, एमसिए–नेपाल र एमसीसीको छापको पनि दुरुपयोग गरिएको थियो ।

“उक्त असत्य सन्देश सम्प्रेषण गर्ने व्यक्ति विरुद्ध कानूनी कारबाही अगाडि बढाउन एमसीए–नेपालले पहल गरिसकेको र नेपाल प्रहरीको साइबर ब्यूरोसँग पत्राचार भइसकेको छ,” एमसीए–नेपालद्वारा सोमबार जारी विज्ञप्तिमा भनिएको छ ।

नेपाल सरकारद्वारा गरिएका केही प्रश्नको उत्तर एमसीसी प्रधान कार्यालयबाट उपलब्ध हुनु अघिल्लो दिन उक्त जाली कागजात सामाजिक सञ्जालमा देखापरेको थियो । नक्कली कागजातप्रति एमसिए–नेपालले आफ्नो सामाजिक सञ्जालमार्फत खण्डन प्रस्तुत गरिसक्दा पनि उक्त भ्रामक सामग्री सामाजिक सञ्जालबाट सम्प्रेषण भइरहेको पाईएको भन्दै सो बारेमा कारबाहीका लागि ब्यूरोमा अनुरोध गरिएको जनाएको छ।

विशेषगरि सो सन्देशमा संलग्न गरिएको जस्तो लेटरहेड एमसिए–नेपालले कहिल्यै प्रयोग नगरेको र दस्तावेजमा प्रयोग गरिएको कार्यकारी निर्देशक खड्ग बहादुर विष्टको हस्ताक्षर पनि डिजिटल प्रविधिबाट नक्कल उतार गरिएको हुनाले उक्त असत्य सन्देश सम्प्रेषण गर्ने व्यक्तिविरुद्ध कानुनी कारबाही अगाडि बढाउनका लागि एमसिए–नेपालले पहल गरिसकेको र नेपाल प्रहरीको साइबर ब्यूरोसँग पत्राचार भइसकेको एमसीए नेपालले उल्लेख गरेको छ।

TK Viber

प्रकाशित: २९ भाद्र २०७८, मंगलवार

Loading...