राष्ट्रिय परिचयपत्र वितरणको तयारी

Technology Khabar २७ भाद्र २०७८, आईतवार

राष्ट्रिय परिचयपत्र वितरणको तयारी

व्यक्तिगत परिचय प्रमाणीकरणको डिजिटल समाधानसहित आगामी दुई वर्षभित्र १६ वर्ष नाघेका सबै नेपालीलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने लक्ष्यसहित सुरु भएको राष्ट्रिय परिचयपत्र वितरण अभियान रुपन्देहीमा सञ्चालन हुने भएको छ।

जिल्लाका सबै स्थानीय तहमा सञ्चालन हुने अभियानको सुरुवात सैनामैना नगरपालिकाबाट हुने भएको छ । प्रत्येक पालिकाका प्रत्येक वडामा टोली खटाएर राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन गरिनेछ।

यसै विषयमा जानकारी दिने उद्देश्यले जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा स्थानीय तहका प्रमुख, उपप्रमुख एवं प्रमुख प्रशासकीय अधिकृतहरूलाई गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ।

विभागका तर्फबाट सुभाष ढकालले राष्ट्रिय परिचयपत्रको महत्वका बारेमा प्रकाश पार्दै अभियानलाई सफल बनाउन आह्वान गरे।

ढकालले डिजिटल विशेषता रहेकाले अहिलेको आधुनिक युगमा यसलाई सार्वजनिक सेवासँग अन्तरसम्बन्धित गराई विविध कामका लागि प्रयोगमा ल्याउन सकिने हुनाले यसको अत्यन्त महत्व रहेको बताए।

बिनाभेदभाव सबै नागरिकले यस्तो डिजिटल परिचयपत्र प्राप्त गर्नु भनेको राष्ट्रिय समावेशीकरणलाई समेत टेवा पुर्याउनु रहेको ढकालको भनाइ छ।

नेपाल सरकारले २०६६र६७ को वार्षिक नीति तथा कार्यक्रमर बजेट वक्तव्यमार्फत सबै नेपाली नागरिकलाई राष्ट्रिय परिचयपत्रका रूपमा निर्वाचनमा समेत प्रयोग गर्न सकिने गरी फोटोसहितको बायोमेट्रिक स्मार्ट कार्डको प्रयोग गर्ने व्यवस्था गरेको उनले जानकारी दिए।

राष्ट्रिय परिचयपत्र भनेको नागरिकको वैयक्तिक तथा जैविक विवरण समावेश भएको राष्ट्रिय पहिचानसहितको बायोमेट्रिक सुविधायुक्त बहुउपयोगी प्रमाणपत्र हो।

१० अंकको व्यक्तिगत परिचय नम्बर उल्लेख गरिने परिचयपत्र जारी गर्ने क्रममा नागरिकका ३० वटाभन्दा बढी व्यक्तिगत विवरण, औँलाको छाप, फोटा र आँखाको नानीको तस्बिरसहितको सूचना संकलन गर्ने गरिन्छ।

राष्ट्रिय परिचयपत्रलाई मतदाता परिचयपत्रका रूपमा प्रयोग गर्नुका साथै व्यक्तिको राष्ट्रिय पहिचानपत्रका रूपमा सबै किसिमका सार्वजनिक सेवा प्राप्त गर्ने आधारका रूपमा लिइएको छ । यस्तै सामाजिक सुरक्षा कार्ड र सुरक्षा व्यवस्थापनका लागि सहयोगी अभिलेखका रूपमा नागरिकलाई यसको फाइदा हुनेछ।

राष्ट्रिय परिचयपत्रमा व्यक्तिका १० वटै औँलाको छाप र व्यक्तिगत विवरण गरी १६ खाले सूचना हुने बताइएको छ। ढकालले रुपन्देहीमा अभियान सञ्चालन गर्दा त्यहाँका पालिकाले रुजु गर्ने अधिकारीका साथै निवेदन फाराम भर्ने स्वयंसेवकको व्यवस्थापन गर्न आग्रह गरे।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले परिचयपत्र वितरणका लागि आवश्यक पर्ने जनशक्ति र पूर्वाधार व्यवस्थापनमा कुनै कमी हुन नदिई जिल्लामा अभियान सफल बनाउन आग्रह गरे । गोरखापत्र

TK Viber

प्रकाशित: २७ भाद्र २०७८, आईतवार

Loading...