बाणिज्य बैंकहरुले अब ‘आईपी पिएबिएक्स’ सेवामा आधारित भ्वाइस कम्युनिकेसन प्रयोग गर्न सक्ने

Technology Khabar २४ भाद्र २०७८, बिहीबार

बाणिज्य बैंकहरुले अब ‘आईपी पिएबिएक्स’ सेवामा आधारित भ्वाइस कम्युनिकेसन प्रयोग गर्न सक्ने
सांकेतिक तस्विर

नेपाल दूरसञ्चार प्राधिकरणले बैंकहरुलाई ‘आईपी पिएबिएक्स’ सेवा संचालनको लागि नीतिगत व्यवस्था गरेको छ। यस सुबिधाका साथमा अब बैंकहरुले आफ्ना आन्तरिक कार्यालयहरुमा एक आपसमा सिधै आन्तरिक टेलिफोनबाटै कुराकानी समेत गर्नसक्ने भएका छन्।

हाल कम्पनीहरुले एउटै कार्यालयभित्र मात्र यस्तो आन्तरिक भ्वाइस कम्युनिकेसन गर्न सक्ने प्रावधान र सुबिधा रहेकोमा अबदेखि आफ्ना सबै सम्बन्धित शाखा तथा कार्यालयहरुमा सिधै कुराकानी गर्न सक्नेछन्।

यसको लागि उनीहरुले नेपालमा दूरसञ्चार सेवा प्रदायकरुसँग समन्वय गर्नुपर्ने हुन्छ। यो प्रविधिको लागि इन्टरनेट प्रोटोकल आवश्यक पर्दछ र त्यसमार्फत टेलिफोन सेटमा सम्पर्क हुन्छ।

प्राधिकरणको बोर्ड बैठकले हालै आईपी पिएबिएक्स सेवा सम्बन्धि नीतिगत व्यवस्था गर्दै पहिलो चरणमा नेपाल राष्ट बैंकबाट अनुमति प्राप्त गरेका ‘क’ वर्गका बैंकहरुलाई त्यस्तो सेवा संचालन गर्न अनुमति दिने निर्णय गरेको हो ।

यस्तो सेवा संचालन गर्नको लागि बैंकहरुले अनुमति प्राप्त दूरसञ्चार सेवा प्रदायकहरुसँग समन्वयन गर्नुपर्ने निर्णय गरिएको छ।

सो सेवाको नकारात्मक प्रभावलाई न्यूनिकरण गर्न सम्बन्धित सेवा प्रदायक र सेवा प्राप्त गर्ने संघसंस्था बीच आपसी समझदारीमा सिपको पोर्ट नम्बर/सेसन लिमिट गर्नसक्ने र यदि सो गर्ने सन्दर्भमा दुईपक्ष बिच आपसी समझदारी नभएमा प्राधिकरणले अन्तिम निर्णय गरिदिनेछ।

तर यसरी शाखा कार्यालयहरुबिच गरिने भ्वाइस सञ्चारको क्रममा सो प्रयोग भएको नेटवर्कमा पब्लिक आईपीको प्रयोग गरेर नेपाल बाहिरबाट कल ल्याई पिएसटिएन/पिएलएमएन/आईएसडिएन (PSTN/PNLMN/ISDN) नेटवर्कमा कनेक्सन वा इन्टरकनेक्सन गर्न गराउन पाईने छैन् ।

पहिलो चरणमा माग भएअनुसार सो सेवा परीक्षणको लागि उपलब्ध गराईने भएको छ भने परीक्षण सफल भएको खण्डमा मूल्यांकनको आधारमा अन्य संघसंस्थाहरुलाई समेत सेवा संचालन गर्न दिने भएको छ।

हाल पिएबिएक्स सेवा केबल एक शाखा वा कार्यालयमा मात्र सिमित हुने गरेको छ जसलाई कार्यालयहरुमा सरल भाषामा इन्टरकम लाइन भनेर चिनिन्छ। त्यसमार्फत एउटा कोठा वा लाइनबाट अर्को लाइनमा कुराकानी गर्न सकिन्छ। तर अन्य शाखा वा कार्यालयमा भने भ्वाइसमा आधारित कुराकानी गर्न सकिँदैन्।

नयाँ नीतिगत व्यवस्था भएसँगै संघसंस्थाहरुले देशभरका आफ्ना कार्यालय वा शाखाहरुमा सिधै फोनमार्फत आईपी पिएबिएक्स सेवाको अनुमतिसहित कुराकानी गर्नसक्नेछन् ।

यसले आगामी दिनमा संघसंस्थाहरुलाई सूचना आदान प्रदानमा सहजीकरण हुने अनुमान गरिएको छ।

प्राधिकणका निर्देशक अम्बर स्थापितले पहिलो चरणमा क वर्गका बैंकहरुलाई मात्र यस्तो सेवा सञ्चालनको अनुमति दिने जानकारी दिए ।

“बाणिज्य बैंकहरुले उच्च स्तरको प्रविधि र सेवा प्रयोग गर्ने र उनीहरुलाई राष्ट बैंकले कडा नियमन गर्ने हुँदा यसको सदुपयोग हुनेछ भन्ने मान्यतामा सेवा खुला गरिएको हो । यसले सञ्चार लागत घटाउने र कार्य क्षमतामा सुधार हुने अपेक्षा गरिएको छ,” उनले टेक्नोलोजीखबरसँग भने ।

बाणिज्य बैंकहरुको अनुभवको आधारमा मूल्यांकन गरेर आगामी दिनमा थप निर्णय गरिने उनले जानकारी दिए ।

TK Viber

प्रकाशित: २४ भाद्र २०७८, बिहीबार

Loading...