सस्तो दरमा अनलिमिटेड डाटा प्याक ल्याउने टेलिकमको तयारी

Technology Khabar २३ भाद्र २०७८, बुधबार

सस्तो दरमा अनलिमिटेड डाटा प्याक ल्याउने टेलिकमको तयारी

काठमाडौं ।

नेपाल टेलिकमले केही समयभित्र सस्तो दरमा इन्टरनेट चलाउन मिल्ने प्याकेजहरु ल्याउने भएको छ।

छोटो समय अवधिका लिमिटेड डाटा प्याक बिक्री गर्ने चल्तीको बजारलाई पछि पार्दै टेलिकमले नयाँ अनलिमिटेड डाटा प्याकहरू ल्याउने योजना बनाएको हो ।

कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीका अनुसार महिनाभर नै प्रयोग गर्न मिल्ने गरी अनलिमिटेड डाटा प्याक ल्याउने कम्पनीको योजना रहेको छ ।

‘निर्धक्कले इन्टरनेट चलाउन फ्री वाइफाई खोज्नुपर्ने परिस्थिति अब हुने छैन’, कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले भने, ‘अब छिट्टै सस्तो र महिनाभर नै अनलिमिटेड प्रयोग गर्न सकिने डाटा प्याक ल्याउँदैछौँ।’

उनका अनुसार करिब चार सय रुपियाँमै त्यस्तो डाटा प्याक उपलब्ध गराउने गरी व्यावसायिक योजना बनिरहेको छ ।

खासगरी भ्वाइस कल र अन्तर्राष्ट्रिय कलबाट प्राप्त हुने आम्दानीमा भारी गिरावट हुन थालेपछि टेलिकम पछिल्लो समय सस्तो र लामो अवधिको डाटा प्याकमा केन्द्रित भइरहेको छ ।

अर्कोतिर डाटा प्रयोग बढे पनि त्यसलाई आम्दानीमा रूपान्तरण गर्न मुस्किल भइरहेको परिस्थितिमा अनलिमिटेड डाटा प्याकलाई टेलिकमले नयाँ आम्दानीको आधारका रूपमा हेरिरहेको अधिकारीको भनाइ छ ।

टेलिकमको तथ्याङ्क अनुसार अहिले डाटा प्रयोग गर्नेमध्ये ९० प्रतिशतले प्याक लिएरै चलाउँछन् । बाँकी १० प्रतिशतले मात्र ‘पे एज यु यो’ अर्थात् प्याक नलिई सामान्य रूपमै इन्टरनेट प्रयोग गर्छन् ।

डाटा प्याकको बढ्दो प्रयोगलाई कम्पनीको आम्दानी बढाउने माध्यमका रूपमा टेलिकमले नयाँ डाटा प्याक घोषणा गर्नलागेको हो ।

यसबाहेक कम्पनीले सर्वसुभल मूल्यमा ग्राहकलाई उपयोगी हुने डाटा प्याकको पनि अध्ययन गरिरहेको अधिकारीले जानकारी दिए।

कोभिड–१९ सङ्क्रमणका कारण भर्चुअल गतिविधि बढिरहेको अवस्थामा त्यस्ता क्रियाकलापलाई समेट्ने गरी प्याक तयार गर्ने कम्पनीको योजना छ ।

यसअघि नै टेलिकमले विद्यार्थीलाई अध्ययनका लागि सस्तोमा डाटा प्याक उपलब्ध गराउँदै आएको छ । फोरजी प्रयोगकर्ता बढिरहेको अवस्थामा नयाँ प्रयोगकर्तालाई लक्षित गर्दै ठूला किसिमका डाटा प्याकमा पनि कम्पनीको ध्यान गएको अधिकारीले बताए।

गोरखापत्र

easy care

प्रकाशित: २३ भाद्र २०७८, बुधबार

ताजा समाचार