जापानी भाषा प्रवीणता परीक्षणको (जेएलपीटी) आवेदन फारम शुल्क खल्तीबाट भुक्तानी गर्न सकिने

Technology Khabar २२ भाद्र २०७८, मंगलवार

जापानी भाषा प्रवीणता परीक्षणको (जेएलपीटी) आवेदन फारम शुल्क खल्तीबाट भुक्तानी गर्न सकिने

डिजिटल भुक्तानी सेवा प्रदान गर्ने कम्पनी, खल्तीले जाल्टानसँगको सहकार्यमा जापानी भाषा प्रवीणता परीक्षणको आवेदन फारम शुल्क खल्तीबाट सजिलै भुक्तानी गर्न सकिने सुविधा कार्यान्वयनमा ल्याएको छ ।

यस पश्चात परिक्षाको फारम भुक्तानी मात्र खल्तीबाट गर्न सकिने छ । विगतका वर्षहरुमा परीक्षा शुल्क तिर्ने अन्य विकल्प नहुँदा परीक्षार्थीहरु जाल्टानको कार्यालय भृकुटिमण्डप नै पुगेर घन्टौँ लाईन बसी शुल्क तिर्ने झन्झट गर्नुपर्थ्यो। यस समस्यालाई मध्यनजर गर्दै खल्तीले अनलाईन भुक्तानी प्रणालीको व्यवस्था गरेको जानकारी दिएको छ।

यसको लागि जाल्टानका अध्यक्ष, पूर्ण काजी प्रजापति र खल्ती वालेटका प्रबन्धक, जोनाम भुर्तेल बीच सम्झौतामा भएको हस्ताक्षर भएको हो ।

के हो जेएलपीटी ?
जेएलपीटी जापानी भाषा सम्बन्धि ज्ञान परीक्षण गर्ने अन्तराष्ट्रिय संस्था हो। यसमा व्यक्तिको जापानीज भाषा पढ्न, सुन्न, र बोल्न सक्ने दक्षताको परीक्षण तथा मुल्यांकन गरिन्छ। उक्त परीक्षण बर्षको एकपटक लिइन्छ । जापानमा रोजगारको शिलशिलामा जान चाहने प्रत्येकले यसको परीक्षा अनिवार्य उत्तीर्ण गरेको हुनुपर्नेछ ।

जेएलपीटीमा एन१, एन२ एन३ , एन४ एन५ गरी जम्मा ५ ओटा तहहरु रहेका छन् । यी मध्ये आवेदकले आफुलाई उपयुक्त लागेको कुनै एक तह छनौट गरी भाषा परीक्षा दिन सक्नेछन् । साथै जेएलपीटीको आवेदन फारम यसको आधिकारीक वेबसाइट अनलाइनबाट भरी पेमेन्ट विकल्पको रुपमा खल्ती छनौट गरी तुरुन्त भुक्तानी गर्न सकिन्छ।

आवेदन फारम शुल्क रु. ३००० रहेको छ ।

आवेदन फारम संख्या सीमित भएकोले सिट संख्या सकिएपछि निर्धारित समय अगावै अनलाइन आवेदन फारम दर्ता प्रक्रिया स्वतः बन्द हुनेछ। फारम भर्ने मिति भद्र २२ देखि असोज २ गते सम्म रहेको छ। ५ डिसेम्बर २०२१ मा संचालन हुने उक्त परिक्षामा उत्तीर्ण भई छनौट हुने १००० जनाले रोजगारको लागि जापान जान पाउनेछन् ।

TK Viber

प्रकाशित: २२ भाद्र २०७८, मंगलवार

Loading...