नेपाल टेलिकमको टावर छ, नेटवर्क छैन

Technology Khabar २२ भाद्र २०७८, मंगलवार

नेपाल टेलिकमको टावर छ, नेटवर्क छैन
सांकेतिक तस्बिर

काठमाडौं ।

रावाबेँसी गाउँपालिका क्षेत्रमा नेपाल टेलिकमको नेटवर्क नहुँदा सर्वसाधारणलाई समस्या भएको स्थानीयले बताएका छन् । गाउँपालिकाको अधिकांश वडाको धेरै बस्तीमा टेलिकमको नेटवर्क नआउँदा फोन गर्न डाँडा खोज्दै हिँड्नुपर्ने बाध्यता रहेको स्थानीयको गुनासो छ।

गाउँपालिकाको– २ खार्पा र ५ को दुबेकोलमा टेलिकमको टावर निर्माण थालेको दुई वर्ष हुन लाग्दा पनि हालसम्म सञ्चालनमा नआएको स्थानीय विष्णु उपरकोटीले बताए ।

‘घरबाट टेलिकमको टावर देखिन थालेको दुई वर्ष भयो, तर आजसम्म मोबाइलमा नेटवर्क छैन,’ अर्का स्थानीय जीनबहादुर तामाङको भनाइ छ ।

गाउँपालिकाको कार्यालयमा नेटवर्क नआउँदा सेवा प्रवाहमा समस्या भएको प्रमुख प्रशासकीय अधिकृत रेखबहादुर थापाले बताए । अतिआवश्यक काम पर्दा फोन गर्न कार्यालय छाडेर डाँडातिर निस्कनुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।

हाल कोरोना भाइरसको कारण भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्न समस्या हुँदा अनलाइन र फोनमार्फत पठन पाठनलाई निरन्तरता दिनुपर्ने बाध्यता छ ।

जसको लागि गाउँपालिकाले सबै विद्यार्थीलाई नेपाल टेलिकमको सियुजी सिमकार्ड पनि वितरण गरिसकेको शिक्षा शाखा संयोजक तिर्थराज दाहालले बताए ।

तर गाउँपालिकाको तल्लो क्षेत्रमा टेलिकमको नेटवर्क नआउँदा अनलाइन कक्षा सञ्चालनमा समस्या भएको उनको भनाइ छ ।

गाउँपालिकामा टावर सञ्चालन गर्न आवश्यक सहयोगसँगै बारम्बार ताकेता गरिरहेको तर टेलिकमले बास्ता नगरेको गाउँपालिका अध्यक्ष लिलानाथ निरौला बताउँछन् ।

गाउँपालिकामा निर्माण हुँदै गरेको दुईवटै टावर निर्माण सम्पन्नसँगै टावरमा विद्युत् पुर्याउने काम सकिएको एक वर्ष भइसकेको छ, तर निर्माणको काम सकेर टावर सञ्चालन नगरी नेपाल टेलिकमका कर्मचारी गुमनाम भएको स्थानीयको गुनासो छ ।

यस सम्बन्धमा खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुको जिम्मेवारी पाएका टेलिकम कार्यालय ओखलढुङ्गाका प्रमुख दिनेशचन्द्र पन्थीले कोरोनाको समस्या र अविरल वर्षाको कारण टावर सञ्चालनमा ल्याउन ढिला भएको बताए ।

टावरमा विद्युत् जडान गर्ने काम सकिएकोले करिब एक महिनामा टावर सञ्चालनमा ल्याउने उनको भनाइ छ । गोरखापत्र

Global Bank
easy care

प्रकाशित: २२ भाद्र २०७८, मंगलवार

ताजा समाचार