नेपाल टेलिकमले भन्यो : कल ट्यापिङ गर्दैनौं, गरेका छैनौं

Technology Khabar २१ भाद्र २०७८, सोमबार

नेपाल टेलिकमले भन्यो : कल ट्यापिङ गर्दैनौं, गरेका छैनौं

सरकारी दूरसञ्चार कम्पनी नेपाल टेलिकमले कुनै पनि ग्राहकको कल ट्यापिङ नगरेको प्रस्ट पारेको छ।

केही समययता विश्वभरी नै पेगासस सफ्टवेयरमार्फत् दिग्गज व्यक्तिहरुको समेत कल ट्यापिङ हुने गरेको समाचारहरु आइरहेका बेला कम्पनीले ग्राहकहरुलाई सचेत गराउन मात्र हालै सूचना जारी गरेको नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले बताए।

आज आयोजित पत्रकार सम्मेलनको क्रममा मोबाइलमा अनावश्यक एपहरु राख्दा त्यसमार्फत् जासूसी हुन सक्ने भएकाले आफूहरुले ग्राहकको सुरक्षाका लागि सूचना जारी गरेको उनले बताए।

तर यो सूचनाका आधारमा कतिपय सञ्चारमाध्यले नेपाल टेलिकमकै सिस्टममा समस्या रहेको हिसाबले समाचार सम्प्रेषण गरिदिँदा जनमानसमा अन्योल छाएको पनि बताए।

उनले यस्ता कल ट्यापिङ सफ्टवेयरका लागि नेपाल दूरसञ्चार प्राधिकरणले अनुमति दिनुपर्ने र यस्तो अनुमति पाउने संस्थामा राज्यको सुरक्षा तथा अनुसन्धानसँग सम्बन्धित संस्था मात्र हुने र दूरसञ्चार सेवा प्रदायक त्यसमा नपर्ने भएकाले टेलिकमले कल ट्याप गर्ने हल्ला मात्रै भएको उनको दावी थियो।

उनले गोपनीयताको हकसम्बन्धी नेपाल स्पेशल सर्भिस बिल राष्ट्रिय सभाबाट पारित भइ प्रतिनिधि सभामा विचाराधीन रहेको र कानूनमा उल्लेख भइनसकेको उपकरण खरिद गर्न नेपाल टेलिकमलाई इजाजत नभएकाले कल ट्यापिङ सफ्टवेयर नभएको अवस्थामा यस्तो कार्य सम्भव नहुने पनि दावी गरे।

यस्तै कल डिटेल रेकर्डका सम्बन्धमा अदालतको आदेशको आधारमा मात्र विशेष प्रयोजनका लागि उपलब्ध गराउने गरेको बताए।

* समाचार सम्पादित

TK Viber

प्रकाशित: २१ भाद्र २०७८, सोमबार

Loading...