प्राधिकरणले फ्रिक्वेन्सी नदिँदा नेपाल टेलिकमको फाईभजी परीक्षणमा समस्या

Technology Khabar २१ भाद्र २०७८, सोमबार

प्राधिकरणले फ्रिक्वेन्सी नदिँदा नेपाल टेलिकमको फाईभजी परीक्षणमा समस्या

नेपाल टेलिकमले चालु आर्थिक वर्षमा फाइभजी सेवाको परीक्षण गर्ने लक्ष्य राखेकोमा नेपाल दूरसञ्चार प्राधिकरणले फ्रिक्वेन्सी नदिएका कारण शुरु हुन नसकेको बताएको छ।

आज काठमाडाैंमा एक पत्रकार सम्मेलनका क्रममा टेलिकमका प्रवक्ता राजेश जोशीले फाइभजी परीक्षणका लागि नेपाल दूरसञ्चार प्राधिकरणबाट फ्रिक्वेन्सी पाउनु पर्ने र त्यसपछि आवश्यक पूर्वाधारहरु निर्माता कम्पनीहरुमार्फत् बनाउन लगाउनु पर्ने भएकाले तोकिएको समयमा परीक्षण शुरु गर्न नसकिएको जानकारी दिए।

उनका अनुसार यस्ता उपकरण तयारी हालतमा नपाइने र निर्माण गर्न लगाउनु पर्ने हुँदा समय लागेको हो।

केही समयअघि नेपाल दूरसञ्चार प्राधिकरणले ‘फाइभजी लगायत नयाँ प्रविधिको परिक्षण सम्बन्धी कार्यविधि २०७८’ पारित गरेपछि यसका लागि बाटो खुलेको थियो।

फाइभजीसहितको नयाँ प्रविधि परीक्षण गर्नको लागि नेटवर्क निर्माण गर्नुपर्ने साथै यसअन्तरगत आवश्यक पर्ने उपकरणहरुको आयात, जडानको कार्य स्वीकृत पाएको ३ महिनाभित्र गरिसक्नुपर्ने प्रावधान राखिएको थियो ।

त्यसैगरी यस्तो अवधिभित्र आवश्यक उपकरणहरु आयात तथा जडान सम्बन्धी कार्यमा कुनै प्रगति नदेखिएको खण्डमा प्राधिकरणले स्वीकृति फिर्ता लिनसक्ने प्रावधान समेत उल्लेख गरिएको थियो।

नयाँ प्रविधिको परीक्षणको लागि प्राधिकरणले फ्रिक्वेन्सी उपलब्ध गराउने तर त्यस्तो फ्रिक्वेन्सी परीक्षण समाप्त भएपछि कम्पनीले फिर्ता गर्नुपर्ने कार्यविधिमा लेखिएको थियो।

यो कार्यवधि पारित हुनु अगाडि नै नेपाल टेलिकमले आवश्यक फ्रिक्वेन्सी लगायत उपलब्ध गराउन मागसहित आफ्नो फाइभजी सेवाको परीक्षणको लागि प्राधिकरणमा निवेदन दिइसकेको थियो।

TK Viber

प्रकाशित: २१ भाद्र २०७८, सोमबार

Loading...