पर्सिभेरन्स रोभरले मंगल ग्रहमा पहिलो चट्टानी नमूना संकलन गरेको नासाको विश्वास

Technology Khabar २० भाद्र २०७८, आईतवार

पर्सिभेरन्स रोभरले मंगल ग्रहमा पहिलो चट्टानी नमूना संकलन गरेको नासाको विश्वास

अमेरिकी अन्तरिक्ष नियोग नासाले मंगल ग्रहमा पठाएको पर्सिभेरन्स रोभरले दोस्रो प्रयासमा चट्टानको नमूना संकलन गर्न सफल भएको जनाएको छ।

उक्त रोबोटले रोशेट नाम गरेको चट्टानमा ड्रिल गरेर एउटा प्वाल बनाएको छ।

नासाले गत बिहीबार सार्वजनिक गरेको तस्बिरमा उक्त रोबोटले बनाएको प्वाल स्पष्टसँग देखिएको छ। रोभरले अघिल्लो महिना नमूना संकलनको लागि पहिलो पटक प्रयास गर्दा चट्टान फुटेर धूलो भएको बीबीसीले जनाएको छ।

पर्सिभेरन्सको यो प्रयास साँच्चै नै सफल भएको हो भने यो कुनै अन्य ग्रहबाट पृथ्वीमा ल्याउने गरी लिइएको पहिलो चट्टानको नमूना हुने निश्चित  छ।

रोभरलाई आउँदो वर्षसम्म दुई दर्जनभन्दा बढी नमूना संकलन गर्नका लागि खटाइएको छ। ती नमूनाहरु अमेरिकी तथा यूरोपियन टोलीको संयुक्त प्रयासमा नासामा ल्याउने प्रबन्ध गरिने नासाको योजना रहेको छ।

नासा मंगल ग्रहको सतहमा चलिरहेको नमूना संकलन पूर्णरुपमा सफल भएको घोषणाका लागि अझै केही तस्बिरहरुको प्रतीक्षा गरिरहेको र यो योजना सफल भएको कुरामा उच्च आत्मविश्वास रहेको पनि बीबीसीमा उल्लेख छ।

‘मिशन सफल भएको घोषणाका लागि अझ राम्रो प्रकाशयुक्त केही तस्बिरहरु लिनुपर्ने हुन्छ’, रोभरका मुख्य इन्जीनियर एडम स्टेल्जनर ले ट्वीटमा लेखेका छन्, ‘यो ठिक छ, हामी सबै ठिक छाैं।’

नासाले यो रोभर गत फेब्रुअरीमा मंगल ग्रहमा पठाएको थियो। मंगल ग्रहमा अर्बो वर्षअघि ताल रहेको र यो हाल सुकेको हिसाबले मानव जीवनको सम्भाव्यता अध्ययनका लागि नासाले यसलाई पठाएको हो।

TK Viber

प्रकाशित: २० भाद्र २०७८, आईतवार

Loading...