सार्वजनिक यातायातमा अब जीपीएस प्रणाली जडान गरिने

Technology Khabar २० भाद्र २०७८, आईतवार

सार्वजनिक यातायातमा अब जीपीएस प्रणाली जडान गरिने

चालू आर्थिक वर्षमा सार्वजनिक यातायातलाई ग्लोबल पोजिसनिङ सिस्टम (जीपीएस) प्रणालीमा जोडिने भएको छ । यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनलाई व्यवस्थित बनाउन जीपीएस जडान प्रक्रिया अघि बढाएको छ।

जीपीएसमार्फत गुडिरहेका गाडीको अवस्थाका बारेमा ट्राफिक प्रहरीलाई अनलाइनबाट जानकारी प्राप्त हुनेछ । सार्वजनिक यातायातका विकृति र आपराधिक घटना नियन्त्रण गर्न सहयोग हुने विभागको दाबी छ।

यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले सार्वजनिक यातायातको नियमन र अनुगमन प्रभावकारी भई ट्राफिक व्यवस्थापनमा सहज हुने भएकाले दुर्घटनामा पनि कमी आउने बताए।

विश्व बैङ्कको सहयोगमा नमुना परियोजनाका रूपमा जीपीएस जडान गरिँदैछ।

महानिर्देशक घिमिरेले भने, “सार्वजनिक सवारीमा जीपीएस जडानका लागि टेन्डरको मूल्याङ्कन गरिरहेका छौँ । मूल्याङ्कन सकिएपछि सम्झौता भई यही आर्थिक वर्षमा जीपीएस जडान कार्य सुरु हुनेछ।”

विभागका अनुसार आगामी दुई महिनामा सामग्री वितरण भइसक्ने छ। सुरुमा एक सयवटा सार्वजनिक सवारीमा जीपीएस जडान गर्नका लागि यातायात व्यवसायीसँग छलफल भएको छ। सार्वजनिक यातायातमा जीपीएस जडान गरिसकेपछि सरकारी गाडीहरूमा गरिने विभागको योजना छ । गोरखापत्र

TK Viber

प्रकाशित: २० भाद्र २०७८, आईतवार

Loading...