वेबसाइट र यूट्युब च्यानलका भ्रामक सामग्रीमाथि अंकुश लगाउँदै भारतीय सर्वोच्च अदालत

Technology Khabar १८ भाद्र २०७८, शुक्रबार

वेबसाइट र यूट्युब च्यानलका भ्रामक सामग्रीमाथि अंकुश लगाउँदै भारतीय सर्वोच्च अदालत

भारतमा वेब पोर्टल, युट्यूब च्यानल तथा सोशल मिडियामा भ्रामक र मिथ्या समाचारका माध्यमबाट साम्प्रदायिकता फैलाइँदै आएकोमा सर्वोच्च अदालतले अंकुश लगाउने भएको छ।

दिन प्रतिदिन बेलगाम हुँदै गएका यस्ता सोशल मिडिया प्लेटफर्मले सर्वसाधारणको मात्र नभइ अदालतका न्यायाधीशको समेत छवि धमिल्याउने खालका भ्रामक समाचारहरु निस्फिक्री रुपमा देखाउँदै र सम्प्रेषण गर्दै आएकोमा अहिलेसम्म राज्यले कुनै अंकुश नलगाएको एबीपीलाईभले लेखेको छ।

हालै केही मिडिया रिपोर्टिङहरुलाई साम्प्रदायिक तथा मिथ्या भएको भन्दै गरिएको उजुरीमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले यस्ता सामग्री प्रकाशन प्रसारण गर्ने माध्यमलाई नियमन र नियन्त्रण बिना छोड्न नहुने र अब नियमन गरिने फैसला सुनाएको हो।

यसका साथै नयाँ सूचना प्रविधिसम्बन्धी नियम उल्लङ्घन गरेको विषयमा अन्य अदालतमा परेका उजुरीलाई पनि सर्वोच्च अदालतमा ट्रान्सफर गर्ने आदेश दिएको छ। यी सबैमाथि एकैपटक सुनुवाइ हुने बताइएको छ।

मुख्य न्यायाधीशको अध्यक्षतामा रहेको इजलासले सुनवाईका क्रममा हरेक विषयलाई किन सांप्रदायिकतासँग जोडिन्छ भन्ने नबुझेको बताएको थियो।

इजलासले सोशल मिडियामा न्यायाधीशको छवि धमिल्याउने प्रयास भइरहेकोमा चिन्ता व्यक्त गरेको थियो।

सुनुवाइका क्रममा मुख्य न्यायाधीश एन भी रमनाले भने, ‘तपाईँले यूट्युबमा कसरी सजिलै मिथ्या समाचार  सूचना फैलाइँदैछ भन्ने थाहा पाउनुहुन्छ। सर्वसाधारणको त कुरै छाडो, यहाँ त संघसंस्था तथा न्यायाधीशलाई नै बदनाम गर्ने खालका मिथ्या कुराहरु देखाइन्छ। यतिमात्र होइन, प्राय: सामान्यभन्दा सामान्य विषयलाई पनि सांप्रदायिक रंगमा ढालेर व्याख्या गरिन्छ। यसबाट देशकै बदानामी हुन्छ।’

अमेरिकाका तीन ओटै सोशल मिडिया प्लेटफार्म फेसबुक, गुगल र ट्विटर भारतमा निकै शक्तिशाली बनिसकेका छन्। यो कुरा त्यहाँको न्यायपालिकालाई पनि महसुस भइसकेको छ।

यसैकारण पनि मुख्य न्यायाधीशले यो प्लेटफर्मले शक्तिशाली व्यक्तिका कुरामात्र सुन्ने र यदि ट्विटर, फेसबुक तथा यूट्युबसँग जवाफ मागिएको खण्डमा उनीहरु आफ्नो जवाफदेहिताबाट टाढा भाग्ने गरेको बताउन बाध्य भएका आकलन गरिएको भारतीय सञ्चारमाध्यम एबीपीलाइभले उल्लेख गरेको छ।

एजेन्सीका साथमा

TK Viber

प्रकाशित: १८ भाद्र २०७८, शुक्रबार

Loading...