विद्युतीय बस सञ्चालनमा ऊर्जामन्त्रीको चासो

Technology Khabar १७ भाद्र २०७८, बिहीबार

विद्युतीय बस सञ्चालनमा ऊर्जामन्त्रीको चासो

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले साझा यातायातको पछिल्लो अवस्थाबारे जानकारी लिएकी छन्। पुल्चोकस्थित साझा यातायातको कार्यालय पुगेर उनले विद्युतीय बस सञ्चालन र त्यसका लागि आवश्यक पर्ने पूर्वाधारका विषयमा जानकारी लिएकी हुन् ।

सो अवसरमा साझा यातायात सञ्चालक समितिका अध्यक्ष कणकमणि दीक्षितले साझाले अगाडि बढाएका कार्यक्रम तथा योजनाबारे जानकारी गराएका थिए । उनले विद्युतीय बस खरिदको अवस्था तथा बस सञ्चालनका लागि चर्जिङ स्टेशनको अवस्थाबारे बताए । उनले पहिलो चरणमा जनस्वास्थ्य, सार्वजनिक यातायात र आर्थिक हिसाबले पनि विद्युतीय बस सञ्चालनमा ल्याउनुपर्ने बताएका थिए ।

टेन्डर आह्वान गरेर बस खरिदको प्रक्रिया अगाडि बढेको बताउँदै अध्यक्ष दीक्षितले पहिलो चरणमा चार महिनापछि तीन वटा विद्युतीय बस आइपुग्ने जानकारी गराए । चरणबद्धरूपमा विद्युतीय बस खरिद गरेर सञ्चालनमा ल्याउने बताउँदै उनले सरकारले त्यसका लागि सहयोग गर्नुपर्नेमा जोड दिए ।

त्यस अवसरमा मन्त्री भुसालले चार्जिङ स्टेशनका लागि आवश्यक पर्ने स्थानको उपयुक्त विकल्प खोज्न पहल गर्ने बताईन्। उनले पहिलो चरणमा ललितपुर र काठमाडौँ महानगरमा विद्युतीय बस सञ्चालन गर्न लागिएको भए पनि आगामी दिनमा देशका सबै नगरपालिकामा विद्युतीय बस सञ्चालन गर्नुपर्नेमा जोड दिईन । मन्त्री भुसालले विद्युतीय बस सञ्चालनका लागि आवश्यक पर्ने संरचना निर्माणका लागि पहल लिन साझा यातायातलाई आग्रह गरिन्।

उनले विद्युतीय सवारी साधन सञ्चालनबाट स्वदेशी कच्चा पदार्थको प्रयोग भई आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने बताउँदै डलरमा खरिद गरिएको एल्पी ग्यास र पेट्रोलियम पदार्थबाट सञ्चालन हुने सबै प्रविधिलाई विस्थापन गर्नुपर्नेमा जोड दिईन । उच्च व्यापारघाटा कम गर्नका लागि पनि विद्युत् खपतलाई बढवा दिनुपर्नेमा जोड दिँदै मन्त्री भुसालले सो कार्यका लागि समाजका सबै निकायले सकारात्मक भूमिका निर्वाह गर्न आह्वान गरिन ।

ऊर्जा सचिव देवेन्द्र कार्कीले विद्युतीय बस सञ्चालनका सरकारका तर्फबाट सहयोग हुने बताउँदै आगामीमा दिनमा उपयुक्त तवरले संरचना खडा गरेर आगाडि बढ्ने सबै निकायले पहल गर्नुपर्ने बताईन्।

त्यसैगरी सञ्चालन समितिका सदस्य भुषण तुलाधरले विद्युतीय बसको खरिद प्रक्रिया र लगातबारे जानकारी गराए । उनका अनुसार करबाहेक एउटा बस खरिदका लागि १ करोड ५ लाख पर्नेछ। कर, चार्जर र पाँच वर्षको मर्मत खर्चसहित प्रति बस १ करोड ५२ लाख लाग्नेछ। यो लागत रकम साझाको प्रारम्भिक अनुमानभन्दा २७ प्रतिशतले कमी हो। पहिलो चरणमा ६१ करोड रुपैयाँको लागतमा ४० वटा बस खरिद गर्न लागिएको छ।

साझाले आह्वान गरेको बोलपत्रमा ९ वटा चिनीयाँ कम्पनी सहभागी भएका थिए । त्यसमध्ये सिएचटिसी किनवेन (नान्जीङ) अटोमोबाइल कम्पनीले छनोट भएर बस खरिद प्रक्रिया अगाडि बढेको हो।

तुलाधरका अनुसार अबको चार महिनामा तीनवटा बस नेपाल आएर परीक्षण सुरु हुनेछ। सम्झौताअनुसार एक पटक ब्याट्री चार्ज गर्द २०० किलोमिटर गुड्छ। बसमा १६१ किलोवाट पर आवरको बाट्री जडान गरिनेछ । जुन चार घण्टामा चार्ज हुनेछ।

पछिल्लो समय सरकारले साझाको ३ अर्बको सेयर लगानी गरेको छ। सो रकम साझाको खातामा आइसकेको छ। साझाले आगामी सन् २०२५ सम्म सबै डिजेल बसलाई विद्युतीय बसमा परिणत गर्ने नीति लिएको छ। हाल साझाले ७१ वटा ठूला बस सञ्चालन गर्दै आएको छ। साझाले पुल्चोकको २२ रोपनी क्षेत्रफलमा ‘साउथ एसिया सेन्टर’ स्थापना गर्ने योजनासमेत बनाएको छ।

TK Viber

प्रकाशित: १७ भाद्र २०७८, बिहीबार

Loading...