नेपाल टेलिकमको मोबाइल नम्बरमा फ्रडकल, अनावश्यक र शंकास्पद एपहरु इन्स्टल नगर्न सुझाब

Technology Khabar १७ भाद्र २०७८, बिहीबार

नेपाल टेलिकमको मोबाइल नम्बरमा फ्रडकल, अनावश्यक र शंकास्पद एपहरु इन्स्टल नगर्न सुझाब

काठमाडौं ।

नेपाल टेलिकमले विदेशबाट मिस्ड कल आउने र कल गर्दा नबोल्ने, पैसा काटिने जस्ता समस्याका आएकोमा ग्राहकहरुलाई सचेत गराउँदै त्यस्तोमा सर्तकता अपनाउन अनुरोध गरेको छ।

टेलिकमले विगत केही समयदेखि नेपाल टेलिकमका मोबाइल नम्बरमा विदेशबाट मिस्डकल आउने र सो नम्बरमा कल गर्दा कल सफल भएपनि कोही नबोल्ने, मेसिनले स्वचालित जवाफ दिने र कल गर्ने ग्राहकको व्यालेन्सबाट पैसा काटिने अवस्था यदाकदा देखिएको जानकारी दिएको छ ।

साथै केही दिन यता कम्पनीको मोबाइल सेवाका ग्राहकहरुको मोबाइलबाट अटो डायल हुने, अटो डायल भएका ग्राहकको मोबाइलमा कल लग नदेखिने र बाह्य कल सफल भएको अवस्थामा पैसा काटिने जस्ता अवस्था पनि पाइएको कम्पनीले उल्लेख गरेको छ ।

‘यस्ता घटना सम्भवतः ग्राहकको मोबाइलमा रहेको कुनै एप वा वेबसाइटको माध्यमबाट हुनसक्ने भएकाले कम्पनीका ग्राहकवर्गले आफ्नो मोबाइल सेटमा अनावश्यक र शंकास्पद एपहरु इन्स्टल नगर्न वा हटाउनु हुन अनुरोध गरिन्छ । सामान्यतया कम्पनीका उपकरणबाट यस्ता अनधिकृत कलहरु नहुने भएतापनि कम्पनीका ग्राहकवर्गको सुविधाका लागि सम्भवतः कुनै एप तथा वेबसाइटमार्फत हुनसक्ने यस्ता अनधिकृत कार्यका सम्बन्धमा कम्पनीका तर्फबाट आवश्यक विश्लेषणको कार्य भइरहेको छ,’ टेलिकमद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

साथै, अनधिकृत र अनावश्यक कल हुनसक्ने अवस्थाबाट बच्नका लागि ग्राहकवर्ग पनि सतर्क रहनु हुन तथा कम्पनीले उपलब्ध गराउने लकिङ कोड (Locking Code) प्रयोग गरी आवश्यक परेको समयमा आइएसडी सेवा खोली कल गर्ने र आवश्यक नहुने समयमा सो सेवा पुनः बन्द गर्न सकिने विकल्प उपयोग गर्न समेत अनुरोध गरेको छ ।

Global Bank
easy care

प्रकाशित: १७ भाद्र २०७८, बिहीबार