विश्वव्यापी चिप अभावका बावजूद स्मार्टफोनको बिक्री चुलिँदो, सामसङ, शाओमी र एप्पल अगाडि

Technology Khabar १७ भाद्र २०७८, बिहीबार

विश्वव्यापी चिप अभावका बावजूद स्मार्टफोनको बिक्री चुलिँदो, सामसङ, शाओमी र एप्पल अगाडि

विश्वभरी नै कोरोना महामारी तथा चिप अभावका बावजूद स्मार्टफोनको बिक्री भने चुलिँदै गएको पाइएको छ।

प्रविधि अनुसन्धान संस्था गार्टनरका अनुसार स्मार्टफोनको बिक्री यो वर्षको दोस्रो त्रैमासमा विश्वव्यापी बिक्री ३२ करोड ९० लाख थान रहेको थियो।

यो आँकडा वार्षिक हिसाबले १०.८ प्रतिशत भएको र बढ्ने क्रम निरन्त् रहेको बुझिएको छ।

यो वर्षको पहिलो त्रैमास उपभोक्ताको नयाँ स्मार्टफोन किन्ने रुचीमा बढोत्तरी आएको रिपोर्टमा उल्लेख छ। यसै हिसाबले उक्त अवधिमा विश्वभर ३७ करोड ८० लाख थान स्मार्टफोन बिक्री भएका थिए।

गत वर्ष स्मार्टफोनको बिक्रीमा उल्लेख्य कमी आएको र सन् २०१९ को तुलनामा १०.५ प्रतिशतले बिक्री घटेको थियो।

तर यो पाला भने मानिसहरुले कोरोना महामारीकै बीच स्मार्टफोनमा राम्रै खर्च गरेका देखिएको छ।

‘उपभोक्ताले हाइ-इन्ड डिभाइसहरुको माग गरेकाले यो त्रैमासमा स्मार्टफोन बिक्री ह्वात्तै बढेको छ। गत वर्ष खर्च गर्न आनाकानी गरेको रकम यो वर्ष भने उपभोक्ताले धक फुकाएर खर्च गरेकाले स्मार्टफोन व्यवसायलाई निकै फाइदा पुगेको हो’, गार्टनरका अनुसन्धान निर्देशक अंशुल गुप्ताले बताए।

फाइभजी मोडेमयुक्त फोनहरुमा उपभोक्ताको रुची बढेको उनले बताएका छन्।

अर्को अनुसन्धानामा आईडीसीले यो वर्षभरीमा फाइभजी डिभाइसको बिक्री गत वर्षको भन्दा १२३ प्रतिशतले वृद्धि भएर ५७ करोड थान पुग्ने प्रक्षेपण गरेको छ।

यो त्रैमासमा फाइभजी स्मार्टफोनको बजारमा सामसङले १७.६ प्रतिशत हिस्सा ओगटेर पहिलो नम्बरमा छ भने गत वर्षको सोही अवधिको भन्दा ८०.५ प्रतिशत वृद्धिसहित १५.५ प्रतिशत बजार हिस्सा ओगटेर चिनियाँ स्मार्टफोन कम्पनी शाओमी दोस्रो नम्बरमा रहेको छ। यो सूचीमा १२ प्रतिशत बजार हिस्सासहित एप्पल तेस्रो नम्बरमा छ।

TK Viber

प्रकाशित: १७ भाद्र २०७८, बिहीबार

Loading...