एप्समार्फत् घरबाटै स्वास्थ्य सेवा

Technology Khabar १६ भाद्र २०७८, बुधबार

एप्समार्फत् घरबाटै स्वास्थ्य सेवा

काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका–१, र्यालेका नागरिकले टेली उपचार एप्स’मार्फत घरबाटै स्वास्थ्य सेवा लिन थालेका छन् ।

पनौती नगरपालिका, पहिलो पाइला नेपाल र टेली उपचार संस्थाको सहकार्यमा स्वाास्थ्य सेवा सुरु भएको हो । टेली उपचार एप्समार्फत घरमै बसेर आफ्नो समस्या अनुरूपका विशेषज्ञ डाक्टरहरूसँग मोबाइल, ल्यापटप र ट्याब्लेटको प्रयोग गरी स्थानीय बासिन्दाले स्वास्थ्य जाँच गराउन पाउने छन् ।

टेली उपचारका संयोजक सुरज गिरीले कोरोनाका कारण विभिन्न रोगको उपचारका लागि घरबाट निस्कनै डरमर्दाे अवस्थामा उक्त विधि प्रभावकारी भएको बताए । उनका अनुसार टेली उपचार एप्सको प्रयोग गरेर बिरामीले घरमै बसेर आफ्नो स्वास्थ्य समस्या डाक्टरलाई भन्न सक्ने छन् ।

उनले भने, ‘बिरामीको अनलाइन भिडियो परामर्शपश्चात लक्षणअनुसार डाक्टरले औषधि तथा आवश्यक सल्लाह प्रदान गर्नुहुन्छ।’

उक्त संस्थाले शनिबार ¥याले स्वास्थ्य चौकीमा स्वास्थ्यारम्भ टेली हेल्थ शिविर सञ्चालन गरेको थियो । शिविरमा ३२ जनाले सेवा लिएका थिए । स्त्री रोग विशेषज्ञ डा. आकृति भारती, डा. लक्ष्मी पन्थी र डा. दीपेन्द्र सिंहले अनलाइनमार्फत बिरामीको समस्या सुनेका थिए । उक्त क्याम्पमा अधिकांशमा हाडजोर्नी सम्बन्धी समस्या देखिएको र्याले स्वास्थ्य चौकीका इन्जार्ज विष्णुहरि सापकोटाले जानकारी दिए ।

शिविरमा पनौती नगरपालिका–१ का वडाध्यक्ष गुणनाथ सापकोटाले टेली उपचार अहिलेको परिस्थितिमा अत्यन्तै उपयुक्त भएको बताए । उनले भने, ‘कोरोनाको समय छ, ग्रामीण भेगमा विशेषज्ञ डाक्टर पाउन मुस्किल छ, घरबाटै विशेषज्ञ डाक्टरसँगको सेवा लिन पाउनु अत्यन्तै राम्रो कुरा हो ।’

पनौतीका १२ वटै वडामा टेली उपचार कार्यक्रम सञ्चालन गर्ने नगरले योजना बनाइरहेको छ । हरेक नागरिकले टेली उपचार एप्स डाउनलोड गर्नुपर्नेहुन्छ । नागरिकले निश्चित रकम तिरेपछि उक्त एप्समार्फत विशेषज्ञ डाक्टरसँग जोडिन सक्नेछन् ।

डाक्टरले गम्भीर खालको रोग भएमा तत्कालै उपचारका लागि सिफारिस गर्ने टेली उपचारका संयोजक गिरीले जानकारी दिए ।

टेली उपचारले विपन्न बिरामीहरूका लागि सहुलियतमा वा निःशुल्क स्वास्थ्य परामर्शसमेत उपलब्ध गराइरहेको जनाएको छ। गोरखापत्र

TK Viber

प्रकाशित: १६ भाद्र २०७८, बुधबार

Loading...