पोलको भाडा नतिर्ने र सम्झौता नविकरण नगरेका इन्टरनेट सेवा प्रदायकको तार र उपकरण हटाईने !

Technology Khabar १६ भाद्र २०७८, बुधबार

पोलको भाडा नतिर्ने र सम्झौता नविकरण नगरेका इन्टरनेट सेवा प्रदायकको तार र उपकरण हटाईने !

नेपाल विद्युत प्राधिकरणले आफ्ना पोलहरु प्रयोग गरे बापत भाडा नतिर्ने र सम्झौता नविकरण नगरेका टेलिफोन, इन्टरनेट तथा केबल टिभी सेवा प्रदायकका तारहरु हटाईदिने भएकोछ।

प्राधिकरणले आज सार्वजनिक सूचना प्रकाशित गर्दै पोल भाडा तिर्ने सम्झौता नै नगरि पोल प्रयोग गर्ने, सम्झौता नवीकरण नगर्ने तथा नयाँ भाडादर नतिर्ने इन्टरनेट तथा सेवा प्रदायकको तारहरु झिकिने चेतावनी दिएको छ ।

विद्युत प्राधिकणको बितरण तथा ग्राहक सेवा निर्देशनालयले आगामी दिनमा तार तथा उपकरणहरू हटाउने अभियान शुरु गर्ने जानकारी दिएको छ ।

नेपाल सरकारको पूर्ण स्वामित्वको संस्था विद्युत प्राधिकरणको आम्दानीमा प्रत्यक्ष असर पर्न गएको भन्दै सो संस्थाले तारहरु हटाईदिने चेतावनी दिएको हो ।

प्राधिकरणकाअनुसार केही सेवा प्रदायकहरूले नियमानुसार सम्झौता नगरी विद्युतीय संरचनाहरू प्रयोग गरी रहेको, केहि सेवा प्रदायकहरूले विद्युत प्राधिकरणबाट माग भए अनुसारको जिपिएस कोअर्डिनेट नक्सा तथा दूरी खुल्ने कागजात समेत पेस नगरी समयमा नविकरण नगरेको तथा केहि सेवा प्रदायक संस्थाहरूले परिमार्जित भाडादर भुक्तानी गर्न आनाकानी गरेका छन् ।

‘अतः त्यस्ता सेवा प्रदायकहरूलाई नयाँ सेवा विस्तार गर्न रोक लगाउने तथा विद्युत प्राधिकरणको पोलमा जडान गरेको तार तथा उपकरणहरू हटाउने अभियान सुरु गर्न लागिएकोले यसबाट पर्नसक्ने नकारात्मक प्रभावलाई सोही अनुसार मनन् गरिदिनुहुन आम ग्राहक एवं उपभोक्ता महानुभावहरूमा हार्दिक अनुरोध छ,’ सूचनामा भनिएको छ ।

त्यसैगरि प्राधिकरणले सेवा प्रदायकहरुलाई सम्झौता गर्न, सम्झौता नविकरण गर्न र हालसम्मको बाँकी बक्यौता तिर्नका लागि समेत अनुरोध गरेको छ ।

यसका साथै सेवा प्रदायकहरुलाई नयाँ लाइन बिस्तार गर्न समेत रोक लगाएको छ ।

‘केही सेवा प्रदायकहरूले नियमानुसार सम्झौता नगरी विद्युतीय संरचनाहरू प्रयोग गरी रहेको, केही सेवा प्रदायकहरूले विद्युत प्राधिकरणबाट माग भए अनुसारको जिपिएस कोअर्डिनेट नक्सा तथा दूरी खुल्ने कागजात समेत पेस नगरी नयाँ संझौता नगरेको तथा केही सेवा प्रदायक संस्थाहरूले परिमार्जित भाडादर भुक्तानी नगरेकोले नियमानुसार सम्झौता गर्न, नवीकरण गर्न एवं हालसम्मको बाँकी बक्यौता रहेको भाडा रकम भुक्तानी गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ,’ सूचनामा भनिएको छ ।

विद्युतीय संरचनाहरूमा जडान गरेको अप्टिकल फाइवर तथा अन्य उपकरणहरू हटाउन, लाइन विस्तार गर्ने क्रममा प्रयोग हुने उपकरण एवं सामग्रीहरू जफत गर्न विद्युत प्राधिकरण बाध्य हुने र यसबाट निस्कने परिणामको जिम्मेवारी सम्बन्धित सेवा प्रदायक नै हुने चेतावनी समेत दिएको छ ।

यसअघि पनि विद्युत प्राधिकरणले आफ्ना पोलहरुको भाडा नतिरेका सेवाप्रदायकहरुको सेवा बिस्तारमा रोक लगाउने र अवरोध गर्दै आएको छ।

केहि समयअघि भरतपुर बितरण केन्द्रले इन्टरनेट सेवा प्रदायकहरुको तार काटिदिँदा सो क्षेत्रमा इन्टरनेट सेवा अवरुद्ध हुन पुगेको थियो ।

TK Viber

प्रकाशित: १६ भाद्र २०७८, बुधबार

Loading...