क्रशहोल्डिङ्गमा कारबाही भोगेको वेबसर्फरका शेयरधनीहरुले बेचे अर्को सेवा प्रदायक कम्पनीको शेयर

Technology Khabar १५ भाद्र २०७८, मंगलवार

क्रशहोल्डिङ्गमा कारबाही भोगेको वेबसर्फरका शेयरधनीहरुले बेचे अर्को सेवा प्रदायक कम्पनीको शेयर

क्रशहोल्डिङ्ग गरेर कारोबार गरेको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले कारबाही गरेको इन्टरनेट सेवा प्रदायक कम्पनी वेबसर्फर नेपाल कम्युनिकेशन सिस्टम प्रालीका लगानीकर्ताहरुले अर्को कम्पनीको आफ्नो शेयर बिक्री गरेका छन्।

वेबसर्फरका शेयरधनी तथा संचालकहरु सुमन क्षेत्री, सुरेन्द्र क्षेत्री र भोज कुमारी अर्जेलले अर्को कम्पनी स्काई केबल टिभी प्राली (हाल गाभिएको संस्था) डिभाइस स्ट्रिम नेटवर्क प्रालीमा लगानी गरि दुबै कम्पनीलाई इन्टरनेट सेवा प्रदायकको रुपमा कारोबार गर्दै आएको थियो।

सोहि कारण नियमनकारी निकायले कारबाही गरी कानून विपरितका कार्य ३० दिनभित्र रोक्न निर्देशन दिएको थियो ।

सोहि निर्देशनअनुसार कम्पनीका लगानीकर्तात्रयले डिभाइस स्ट्रिम नेटवर्क प्रालीमा रहेको आफ्नो शेयर अर्को व्यक्तिलाई हस्तान्तरण गरेको जानकारी गराएका छन् ।

उनीहरुले प्राधिकरणलाई पत्र पठाउँदै आफूहरुको शेयर केदार बहादुर कुँबरलाई बिक्री गरि शेयरको हक हस्तान्तरण गरेको जानकारी गराएका हुन् ।

प्राधिकरणले उनीहरुलाई दिएको ३० दिनको अवधिभित्र नै सो शेयर हस्तान्तरण गरेको जानकारी गराएका हुन् ।

यसअघि इन्टरनेट सेवा प्रदायक वेबसर्फरका शेयरधनी तथा संचालकहरु सुमन क्षेत्री, सुरेन्द्र क्षेत्री र भोज कुमारी अर्जेल सबैजना अर्को इन्टरनेट सेवा प्रदायक कम्पनी स्काई केवल टिभी प्रालिका समेत शेयरधनीहरु तथा संचालकहरु रही पुनः तिनै शेयरहोल्डर तथा संचालकहरु रहनेगरी तेस्रो कम्पनी डिभाइन स्ट्रिम नेटवर्क प्रालि दर्ता गरि सेवा दिईरहेको भेटिएको थियो।

प्राधिकरणको अनुगमन टोलीले अनुगमनको क्रममा सो तेस्रो कम्पनी डिभाइन स्ट्रिम नेटवर्कमा दोस्रो कम्पनी स्काई केवल टिभीलाई गाभेर सेवा प्रदान गर्दै आएको भेटेको थियो । सो नयाँ कम्पनीले भने अनुमति नै नदिई दूरसञ्चार सेवा प्रदान गरिरहेको भेटिएको थियो।

वेबसर्फरका शेयरधनी तथा संचालकहरु सुमन क्षेत्री, सुरेन्द्र क्षेत्री र भोज कुमारी अर्जेलको लगानी रहेको डिभाइन स्ट्रिम नेटवर्कले भने अनुमति नै लिएको थिएन्।

सोहीआधारमा ती कम्पनीहरुलाई कारबाही गर्दै प्राधिकरणले वेबसर्फर नेपाल कम्युनिकेशन सिस्टम प्राली र स्काई केबल टिभी प्राली (हाल गाभिएको संस्था डिभाइस स्ट्रिम नेटवर्क प्राली)लाई ५०/५० हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको थियो।

हेर्नुस् सम्बन्धित समाचार-

क्रस होल्डिङ्ग गरी अनुमति बिना इन्टरनेट सेवा दिएकोमा वेबसर्फर नेपाल र स्काई केबल कारबाहीमा

TK Viber

प्रकाशित: १५ भाद्र २०७८, मंगलवार

Loading...