एलजीद्वारा जर्मनीमा सिक्सजी प्रविधिको सफल परीक्षण

Technology Khabar ६ भाद्र २०७८, आईतवार

एलजीद्वारा जर्मनीमा सिक्सजी प्रविधिको सफल परीक्षण

काठमाडौं ।

विश्वका धेरै देशमा अझै फाइभजी परीक्षणका क्रममा छ भने कतिपय देशमा त सम्भाव्यता अध्ययन कै चरणमा छ। यस्तोमा दक्षिण कोरियाली टेक जायन्ट एलजीले आफ्नो देश बाहिर ६जी को सफल परीक्षण गरेको बताएको हो।

एलजीले हालैको ६जी परीक्षण जर्मनीमा गरेको हो जसका लागि कम्पनीले टेराहर्ज स्पेक्ट्रम प्रयोगमा ल्याएको थियो। यो परीक्षण कम्पनीले यूरोपेली अनुसन्धान संस्था फ्रौनहोफर-गेसेलशाफ्टसँगको साझेदारीमा सम्पन्न गरेको हो।

एलजीका अनुसार यो परीक्षण गत अगस्त १३ का दिन जर्मनीको बर्लिन शहरमा गरिएको थियो। यो परीक्षणमा कम्पनीले बाहिरी वातावरणमा १०० मिटरको दूरीमा सफलतापूर्वक डाटा ट्रान्स्फर गरेको थियो।

कम्पनीले फ्रौनहोफर-गेसेलशाफ्टसँग मिलेर विशेष पावर एम्पलिफायर विकसित गरेको छ।

यो प्रविधिले टेराहर्ज स्पेक्ट्रममा स्टेबल ६जी सिग्नल प्रदान गर्न सहयोग गर्छ। यो एम्प्लिफायर १५५-१७५ गिगाहर्ज ब्यान्डमा स्टेबल सिग्नल प्राप्त गर्न १५ डेसिबल मिलीवाटको अधिकतम आउटपुट सिग्नल प्रदान गर्न सक्छ।

यसबाहेक एलजीले अडाप्टिभ बीमफार्मिङ टेक्नोलोजी प्रदर्शन तथा परीक्षण गर्न सफल भएको छ।

यसले च्यानल र रिसिभरको स्थितिमा परिवर्तनका साथै हाइ गेन एन्टेना स्विचिङका आधारमा सिग्लनको दिशालाई बदल्न सक्दछ। यसले थुप्रै एम्पलिफायको आउटपुट सिग्नललाई जोडेर तिनीहरुलाई कुनै एक निर्धारित एन्टेनासम्म पुर्याउन सक्छ।

आगामी सन् २०२५ का लागि वैश्विक मानकीकरण तथा त्यसपछि ४ वर्षभित्र व्यावसायीकरणका साथमा ६जी नेटवर्कले कम लेटेन्सीमा द्रुत वायरलेस ट्रान्समिशन तथा कम्युनिकेशन स्पीडलाई सपोर्ट गर्न सक्षम हुने   कम्पनीको भनाइ छ।

Global Bank
easy care

प्रकाशित: ६ भाद्र २०७८, आईतवार

ताजा समाचार