एनसेललाई १ अर्ब ११ करोड रुपैयाँ जरिबाना, सम्बन्धित ग्राहकहरुलाई मोबाइल नम्बरमा रकम फिर्ता गर्नुपर्ने

Technology Khabar ४ भाद्र २०७८, शुक्रबार

एनसेललाई १ अर्ब ११ करोड रुपैयाँ जरिबाना, सम्बन्धित ग्राहकहरुलाई मोबाइल नम्बरमा रकम फिर्ता गर्नुपर्ने
एनसेल आजियाटा लिमिटेडको लैनचौरमा रहेको मुख्य कार्यालय । फाइल तस्बिर

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले एनसेल आजियाटा लिमिटेडलाई गेमलफ्ट र ह्वावे एप ग्यालरी नामका एपमार्फत् ग्राहकको मन्जुरीबिना अटो रिन्यु गरेर आम्दानी गरेको १ अर्ब ११ करोड २९ लाख ६७ हजार ८४९ रुपैयाँ ग्राहककै मोबाइल नम्बरमा फिर्ता गर्न आदेश दिएको छ।

कम्पनीले गेमलफ्ट र ह्वावे एप ग्यालरीमा दैनिक तीन दिने साप्ताहिक र मासिक प्याक टाइप गरेका ग्राहकरुसँग २०७५/६/१५ देखि २०७७/२/१८ सम्म हुन आउने उक्त रकम सम्बन्धित ग्राहकको मोबाइल नम्बरमा तीन महिनाभित्र फिर्ता गरिसक्न आदेश दिएको हो।

हालै बसेको बोर्ड बैठकले एनसेललाई ग्राहकको मन्जुरीबिना अटो रिन्यु गरेको विषयमा लामो छानबिनपछि जरिवाना र रकम फिर्ता गराउने निर्णय गरेको प्राधिकरण स्रोतले जानकारी दिएको छ।

स्रोतकाअनुसार रकम फिर्ता गराउनुका साथै दूरसञ्चार ऐनको दफा ४७ को विपरित कार्य भएको भन्दै कम्पनीलाई ५० हजार रुपैयाँ जरिवाना समेत गरेको छ।

यस्तो छ विस्तृत निर्देशनः

एनसेललाई गेमलफ्ट तथा ह्वावे एप ग्यालरीका दैनिक रिन्यूवल, ३ दिने रिन्यूवल, साप्ताहिक रिन्यूवल तथा मासिक रिन्यूवलका प्याक टाइपहरुको सेवा दिएका प्रत्येक ग्राहकहरुलाई २०७५ असोज १५ गतेदेखि २०७७ जेठ १८ गतेसम्मको रकम १ अर्ब ११ करोड २९ लाख ६७ हजार ८४९ रुपैयाँ सहित सेवा संचालनमा रहेको अन्तिम मितिसम्म हुन आउने रकम दूरसञ्चार ऐनको दफा ४७ को उपदफा १ बमोजिम क्षतिपूर्ति बापत सम्बन्धित ग्राहकहरुलाई उनीहरुको मोबाइल नम्बरमा नै ३ महिनाभित्र फिर्ता गर्नुपर्ने साउन ३२ गते बसेको प्राधिकरण बोर्डले निर्देशन दिएको हो।

यसरी फिर्ता गरिएको रकमको बिस्तृत बिबरण प्राधिकरणलाई एनसेलले मासिकरुपमा उपलब्ध गराउनुपर्नेछ भने सम्बन्धित ग्राहकहरुलाई रकम फिर्ता लिन आउन सार्वजनिक सूचनामार्फत जानकारी दिनुपर्ने निर्णय समेत गरेको छ ।

यसरी फिर्ता गर्न नसकिएको रकम कम्पनीले छुट्टै कोष खडा गरी सो कोषमा रकम जम्मा गर्नुपर्ने र त्यस बारे समेत प्राधिकरणलाई जानकारी दिनुपर्ने भएको छ।

प्राधिकरणको निर्णयअनुसार गेमलफ्ट तथा ह्वावे एप ग्यालरी नामक भास सेवाहरुको अटो रिन्यूअलमा २०७७ जेठ १८ गतेदेखि हालसम्म ग्राहकहरुबाट कति रकम आर्जन भएको छ भन्ने बारेमा समेत १५ दिनभित्र बिबरण बुझाउन निर्देशन दिएको छ।

यस बाहेक प्राधिकरणले निर्देशन बिपरित संचालन गरिएको उल्लेखित भास सेवासहित अटो रिन्यू हुने गरी हाल संचालनमा रहेका भास सेवाहरु सात दिनभित्र मोबाइल ब्यालेन्सको प्रयोग गरी विद्युतीय माध्यमबाट वस्तु तथा सेवा खरिद गर्ने सम्बन्धी कार्यबिधि बमोजिम हुने गरी मात्र संचालन गर्न समेत निर्देशन गरेको छ । यसरी नभएको खण्डमा सात दिनभित्र बन्द गरेर जानकारी गराउन र त्यस्तो सेवा बन्द गर्नु अघि सेवा सदस्यता गरिसकेका सबै ग्राहकहरुको रकम उनीहरुकै मोबाइल नम्बरमा फिर्ता गर्न समेत आदेश दिएको छ।

एनसेललाई बोर्डले ग्राहकहरुले बुझ्ने भाषामा सेवाहरु संचालन गराउन र ग्राहकहरुले सजिलै सेवा डिएक्टिभेट गर्न सक्ने व्यवस्था बनाउन भनेको छ ।

यसका साथमा कम्पनीलाई कुनैपनि ग्राहकले गेमलफ्ट र ह्वावे एप ग्यालरीका अटो रिन्यू हुने सेवाहरु २०७५ असोज १५ गतेदेखि खरिद गरेको मितिदेखि सेवा बन्द हुँदासम्म निरन्तर रुपमा सेवा उपभोग गरेको प्रमाण कम्पनीले पेश गरेको खण्डमा त्यस्ता ग्राहकहरुलाई रकम फिर्ता गर्न नपर्ने गरि निर्णय गरिने भन्दै सहज बाटो समेत खुलाई दिएको छ।

यस्तो थियो कारबाहीको आधार

कम्पनीले यो अवधिमा गेमलफ्टको भास सेवा अन्तर्गत अटो रिन्युअल मार्फत् ११ करोड ३७ लाख ४८ हजार ९८६ रुपैयाँ तथा ह्वावे एप ग्यालरीमार्फत ९९ करोड ९१ लाख १८ हजार ८५३ रुपैयाँ आर्जन गरेको पाइएको प्राधिकरणको ठहर छ।

प्राधिकरणले यस विषयमा २०७५ असोज १५ गतेको पत्रमार्फत् एनसेलबाट सञ्चालित भास सेवा अन्तर्गतका सेवाहरु अटो रिन्यु हुने गरेको पाइएकोले यसबाट उपभोक्तालाई पर्न गएको समस्या सुनुवाइ गर्दै उक्त सेवाहरुको अटो रिन्यु गर्ने कार्य तत्काल बन्द गर्न दिइएको निर्देशन किन पालना नगरेको भनि सोधेको थियो भनेर यसरी प्राधिकरणको निर्देशन पालना नगरेकोले दूरसञ्चार ऐनअनुसार किन कारबाही नगर्ने भनेर २०७८ असार १७ मा स्पष्टीकरण सोधेको थियो।

त्यसको जवाफमा कम्पनीले २०७८ असार ३१ यस्ता भास सेवाहरु तेस्रो पक्षले प्रदान गर्ने सेवा भएको र ग्राहकले केवल सेवा खरिद बापतको शुल्क नगद रहित भुक्तानीका लागि मोबाइलमा भएको ब्यालेन्स उपभोग गर्ने, उक्त सेवा खरिद कार्यको सहजीकरण एवं समन्वय गर्नको लागि एनसेलको मोबाइल सिमकार्डमा रहेको ब्यालेन्स प्रयोग मात्र हुने भनेर जवाफ पठाएको थियो।

यसबाहेक एनसेलले भास/इलेक्ट्रोनिक सेवा सञ्चालनमा अटो रिन्युको व्यवस्था नरहेको र ग्राहकको पूर्व स्वीकृति लिने गरेको, ग्राहकले पटक पटक एक्टिभेट गर्न झन्झटिलो मानेको कारण लामो समयका लागि एकै पटक स्वीकृति दिने ग्राहकहरुको मात्र प्याक एक्टिभ हुने व्यवस्था गरिएको, कम्पनीले ग्राहकलाई  एक्टिभेट र डिएक्टिभेट गर्ने दुवै विकल्प खुला गरी ग्राहकको मन्जुरीसमेत लिई सेवा सुचारु गरेको र सम्बन्धित ग्राहकबाट अन्यथा दावीसमेत नभएकोले ग्राहकलाई नोक्सनी भएको भन्न नमिल्ने जस्ता विषयहरु जानकारीसहित जवाफ दिएको थियो।

तर प्राधिकरणको अनुगमनमा एनसेलले पेश गरेका तर्कअनुसारको काम कारबाही भएको नपाइएको र ग्राहकका गुनासा बढ्दै गएकोले एनसेललाई बोर्ड बैठकको निर्णयबाट उक्त रकम क्षतिपूर्तिस्वरुप रकम फिर्ता गर्ने निर्देशन दिइएको प्राधिकरण स्रोतले टेक्नोलोजीखबरलाई जानकारी दियो।

*हेडलाइन तथा समाचार सम्पादित ।

Global Bank
easy care

प्रकाशित: ४ भाद्र २०७८, शुक्रबार

ताजा समाचार