Technology Khabar ३ भाद्र २०७८, बिहीबार
काठमाडौं ।
नेपालमा रामबहादुर नाम सोशल मिडिया प्लेटफर्म ट्विटरको ट्रेण्डिङ्गमा आएको छ। पछिल्लो दिनमा तालिबान र अफगानिस्तान नेपालको ट्विटर ट्रेण्डिंगमा रहिरहेको बेलामा अचानक रामबहादुर ट्विटर ट्रेण्डिंगमा देखा परेको हो ।
पक्कै पनि रामबहादुर किन ट्विटर ट्रेण्डिंगमा आयो भन्ने तपाईँलाई जिज्ञासा लाग्यो होला । र किन रामबहादुर नै ट्विटर ट्रेण्डिंगमा पर्यो वा उनले के त्यस्तो विशेष काम गरे भन्ने खुल्दुली समेत लाग्यो होला ।
रामबहादुरको किस्सा आज दिनभर नेपालको सामाजिक सञ्जालमा छाईरहेको छ । जसले गर्दा रामबहादुर नामलाई नै ट्विटर ट्रेण्डिंगमा ल्याएको हो।
ट्विटर ट्रेण्डिंगमा रामबहादुर परेपनि कति ट्वीट त्यस विषयसँग सम्बन्धित छ भनेर देखाएको छैन् ।
ट्विटर ट्रेण्डिंगमा रामबहादुर पर्नुको खास कारण भने नेपाली युवा उद्यमी तथा व्यवसायी तथा सौरभ ज्योती हुन् ।
ज्योतीले एउटा पोडकास्टमा भनेको विषयमा समावेश भएको ‘रामबहादुर’ नाम अचानक चर्चामा आएको हो । उनले सन्जय गुप्ता नामक एक पोडकास्टरसँग गरेको कुराकानीको एउटा अंशमा रामबहादुरको चित्रण गरेका छन् ।
जसमा उनले रामबहादुरलाई साधारण नेपालीको रुपमा परिभाषित गरेका छन् । जो चीनमा बनेको अलार्मदेखि अमेरिकी खानेकुरा, लिभाइज जीन्स, बंगलादेशी सर्ट लगाएर जापानी मोटरबाईकमा दिनभर जागिर खोज्न घुम्ने र बेलुका बेरोजगार भएको भन्दै मलेशियामा निर्मित सोफामा बसेर फ्रेन्च वाईन खाँदै चिनियाँ टिभी हेर्ने विषयलाई बताएका छन् ।
उनले नेपाली उत्पादनहरु नै नभएको र भएपनि त्यसको प्रबर्द्धन नभएको भन्दै विभिन्न अन्तर्राष्ट्रिय ब्राण्डहरुले बजार ओगटेको विषयलाई समावेश गरेका थिए । सो क्लिप सामाजिक सञ्जालमा आएसँगै रामबहादुर चर्चामा आएको थियो। विशेषगरि ट्विटरमा यस बारेमा निकै चर्चा भएको थियो।
तर अन्तर्राष्ट्रिय र महंगा ब्राण्डहरु प्रयोग गर्ने सामान्य नेपाली रामबहादुर कसरी बेरोजगार भयो भन्दै सामाजिक सञ्जालमा सो बारेमा बहस शुरु भएको थियो ।
जसमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले विभिन्न किसिमले उनलाई र रामबहादुर नामलाई ट्रोल गर्न थालेसँगै सो नाम ट्विटर ट्रेण्डिंगमा आएको हो ।
स्मरण रहोस् ज्योती नेपाल उद्योग बाणिज्य महासंघको वर्तमान कार्यकारिणी सदस्य हुन् भने उनको कम्पनी तथा ग्रुप नेपालमा जापानी मोटरबाइक ब्राण्ड होण्डा र होण्डा ब्राण्डको गाडी, इलेक्ट्रोनिक्स ब्राण्ड फिलिप्स, टाफे ट्र्याक्टर, उषा पम्प, हिरो मोटरबाइक, बास्किन रबिन्स, सार्क हेलमेट लगायतको आयात तथा बिक्री गर्दै आएको छ । यसका साथै उनी आबद्ध ग्रुपअन्तरगत हिमाल आईरन, हिमाल अक्सिजन, ज्योती यार्नलगायतका विभिन्न उत्पादनमूलक उद्योग समेत सञ्चालनमा छन् ।
उनी आफैं पनि मोटरसाइकलका सौखिन हुन् र सुपरम्यानलगायत अमेरिकी सुपरहिरोहरुका फ्यान हुन् ।
प्रकाशित: ३ भाद्र २०७८, बिहीबार