यस्तो छ प्रमुख ५ इन्टरनेट सेवा प्रदायकको हाइस्पीड इन्टरनेट ब्याण्डविथ, हेर्नुस् मूल्य र सुविधाहरु

Technology Khabar ३२ श्रावण २०७८, सोमबार

यस्तो छ प्रमुख ५ इन्टरनेट सेवा प्रदायकको हाइस्पीड इन्टरनेट ब्याण्डविथ, हेर्नुस् मूल्य र सुविधाहरु

काठमाडौं ।

कुनै बेला विलासी सेवामा गनिने इन्टरनेट हिजोआज आधारभूत आवश्यकतामा परिणत भइसकेको छ।

गत वर्ष कोरोना महामारी फैलिएदेखि त झन् स्कुल कलेजका कक्षादेखि लिएर मिल्नेसम्मका कार्यालयका काम समेत घरैबाट भइरहेका छन्। यसरी इन्टरनेटको माग बढिरहँदा विभिन्न आईएसपीले नयाँ ग्राहक पनि बढाइरहेका छन् भने पुराना प्याकेजबाट नयाँ प्याकेजमा पनि आफ्ना ग्राहकहरुलाई शिफ्ट गरिरहेका छन्।

इन्टरनेटको माग बढिरहँदा नयाँ नयाँ इन्टरनेट सेवा प्रदायकहरु पनि देखा परिरहेका छन्।

यसबाहेक पुरानै सेवा प्रदायकहरुका बीच पनि ब्याण्डविथ बढाउने र विभिन्न छुटका अफरहरु सहित ग्राहक तान्ने होडबाजी चलिरहेको छ।

यसरी अरु प्रतिस्पर्धीको दाँजोमा अब्बल ठहरिन ब्यान्डविथ थप्नेदेखि लिएर मासिक वा वार्षिक शुल्कमा छुटका साथै कनेक्शनका लागि आवश्यक पर्ने अन्य उपकरण सित्तैमा दिने लगायतका अफरहरु आईएसपीहरुले गर्दै आएका छन्।

ग्राहक सङ्ख्याका आधारमा उत्कृष्ट ५ मा पर्न सफल आईएसपीले कति मूल्यमा सर्वाधिक कति एमबीपीएससम्म ब्याण्डविथ उपलब्ध गराइरहेका छन् त?  हेरौं कम्पनीले घरेलु ग्राहकहरुलाई प्रदान गरिरहेको अधिकतम स्पीडको सर्वाधिक एमबीपीएस ब्याण्डविथ र त्यसको सुबिधाहरु

१. वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेड

वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले सर्वाधिक ८० एमबीपीएससम्मको ब्याण्डविथ प्रदान गरिरहेको छ। यो व्याण्डविथको मूल्य एकमुष्ट रुपमा २२,००० रुपैयाँ तोकेको छ। यो भ्याट बिनाको मूल्य हो।

यसभन्दा कम व्याण्डविथ १ महिना वा ३ महिनाको पनि अफर उपलब्ध छ तर ८० एमबीपीएसको भने एकमुष्ट नै रकम तिर्नुपर्ने हुन्छ।

२. सुविसु केबलनेट प्रा.लि.

ग्राहक सङ्ख्याका आधारमा दोस्रो नम्बरमा रहेको सुविसु केबलनेट प्रालिले सर्वाधिक ४५ एमबीपीएससम्मको ब्याण्डविथ उपलब्ध गराउँदै आएको छ। यसको वार्षिक शुल्क १५,००० रुपैयाँ तोकिएको छ। यसमा पनि १३ प्रतिशत भ्याट जोडेर लिइन्छ।

तर सुविसुले भने ४५ एमबीपीएससम्मको ब्याण्डविथ पनि १ महिना र ३ महिनाको प्याकेजमा पनि लिन सकिने सुविधा दिएको छ।

३. क्लासिकटेक प्रालि

क्लासिकटेक प्रालिले तुफान अफरका नाममा सर्वाधिक ८० एमबीपीएससम्मको ब्यान्डविथ मासिक १,४५० रुपैयाँका दरले उपलब्ध गराउँदै आएको छ। यसलाई वार्षिक रुपमा हिसाब निकाल्दा १७,४०० रुपैयाँ हुन आउँछ। यो पनि भ्याट बाहेकको मूल्य हो ।

४. भायनेट कम्युनिकेशन प्रालि 

भायनेट कम्युनिकेशन प्रालिले अल गुण सम्पन्न नाममा १०० एमबीपीएससम्मको सर्वाधिक ब्यान्डविथ दिँदै आएको छ। प्रति महिना १,८०० रुपैयाँ तोकिएको यो अफरको वार्षिक मूल्य २१,६०० रुपैयाँ हुन आउँछ। यो रकम भ्याट बाहेकको हो।

५. टेकमाइण्ड्स नेटवर्क प्रालि

चितवनमा मुख्य कार्यालय रहेको टेकमाइण्ड्स नेटवर्क प्रालिले आफ्ना ग्राहकहरुलाई ४५ एमबीपीएससम्मको ब्यान्डविथ उपलब्ध गराउँदै आएको छ । यसका लागस वार्षिक रुपमा १८,६४५ रुपैयाँ तिर्नुपर्ने हुन्छ। कम्पनीकाअनुसार यो भ्याट जोडिसकेको रकम हो। यसमा अतिरिक्त कर तिर्नुपर्दैन्।

यसबाहेक यो अफर १ महिना तीन महिनाको समयावधिका लागि पनि उपलब्ध रहेको छ।

‌* टप ५ को सूची नेपाल दूरसञ्चार प्राधिकरणले उपलब्ध गराएको अघिल्लो महिनासम्मको ग्राहक सङ्ख्याका आधारमा लिइएको हो ।

easy care

प्रकाशित: ३२ श्रावण २०७८, सोमबार