Technology Khabar ३१ श्रावण २०७८, आईतवार
काठमाडौं ।
चिनियाँ स्मार्टफोन ब्रान्ड अनरले अनर प्याड भी७ प्रो सार्वजनिकको घोषणा गरेको छ। कम्पनीका म्याजिक३ सिरिज तथा एक्स२० फाइभजीले बजारमा चर्चा बटुलिरहँदा यो नयाँ ट्याब्लेटको घोषणा गरिएको हो।
यो ट्याब्लेट अनरको सबैभन्दा प्रिमियम स्लेट हो जसमा १२० हर्ज रिफ्रेश रेटसहितको ११ इन्चको २५६०x१६०० पिक्सेलयुक्त एलसीडी डिस्पले दिइएको छ। यस बाहेक यो मिडियाटेकको कोम्पानियो १३०० टी चिपसेट प्रयोग भएको पहिलो डिभाइस पनि हो।
मिडियाटेकको कोम्पानियो ६ एनएम प्रोसेसमा बनेको हो भने यसमा चार ओटा कर्टेक्स-ए७८ तथा चार ओटा ए५५ कोर सहित ९ कोरको माली-जी७७ एमसी९ जीपीयू राखिएको छ।
यसको पर्फर्मेन्स लगभग डाइमेन्सिटी १२०० को जस्तै हुने कम्पनीको दावी छ।
यो डिभाइसमा ६ र ८ जीबी र्याम तथा १२८ र २५६ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध हुनेछ भने पछाडिपट्टि १३ मेगापिक्सेलको मुख्यिसहित डुअल क्यामरा सेट अप रहनेछ। अगाडिपट्टि पनि फुल एचडी भिडियो खिच्नसक्ने शूटर राखिएको छ।
एन्ड्रोइड ११ का साथमा म्याजिकयूआई ५.० रहेको यो डिभाइसमा पावरका लागि २२.५ वाट फास्ट चार्जिङसहितको ७२५० एमएएच ब्याट्री राखिएको छ।
प्रकाशित: ३१ श्रावण २०७८, आईतवार