एक अर्ब ५६ करोड त्रैमासिक नाफा बढाउन नेपाल टेलिकम सफल, वार्षिक नाफा २ अर्बले घट्यो

Technology Khabar ३० श्रावण २०७८, शनिबार

एक अर्ब ५६ करोड त्रैमासिक नाफा बढाउन नेपाल टेलिकम सफल, वार्षिक नाफा २ अर्बले घट्यो
NTC_Advt

काठमाडौं ।

नेपाल टेलिकमको आम्दानी पछिल्लो त्रैमासमा बढाउन सफल भएको देखिएको छ। टेलिकमले आज सार्वजनिक गरेको चौथो त्रैमासको वित्तीय बिबरणअनुसार कम्पनीले करिब १ अर्ब ५६ करोड रुपैयाँ वृद्धि गर्न सफल भएको हो।

वित्तीय बिबरणअनुसार गत आ.व.२०७७/७८ को तेस्रो त्रैमासिक अवधि सम्ममा खुद मुनाफा रु. ५ अर्व ८८ करोड ४४ लाख ७२ हजार रहेकोमा चौथो त्रैमासिक अवधिमा रु. १ अर्व ५६ करोड ९६ लाख १२ हजारले वृद्धि भई रु. ७ अर्व ४५ करोड ४० लाख ८५ हजार रहेको छ।

कम्पनीले त्रैमासिकरुमा नाफा बढाउन सफल भएपनि गत वर्षको चौथो त्रैमासिकको आधारमा हेर्दा कम्पनीको नाफा गुमेको देखिन्छ । गत आवको चौथो त्रैमासिक अवधि सम्मको खुद मुनाफा रु. ९ अर्व ७४ करोड ८९ लाख ५६ हजार रहेको थियो तर चालु आवको सोहि अवधिमा खुद मुनाफा रु. ७ अर्व ४५ करोड ४० लाख ८५ हजार रहेको बिबरणमा उल्लेख छ।

जसअनुसार कम्पनीले २ अर्ब २९ करोड ४८ लाख ७१ हजार रुपैयाँ एक वर्षमा नाफा गुमाएको छ ।

कम्पनीले त्रैमासिकमा नाफा भएपनि वार्षिकरुपमा नाफामा कमी हुनुको कारणमा कोभिड १९ को असरलाई प्रमुख कारक मानेको छ। जसअनुसार कोभिड १९ को महामारीलाई लक्षित गरी कम्पनीबाट ग्राहकवर्गको सुविधाका लागि निकै कम मूल्यमा डाटा प्याकेज उपलव्ध गराएको हुँदा अघिल्लो वर्षको तुलनामा डाटाको खपत बढेतापनि राजश्व आशातितरुपमा वृद्धि हुने अवस्था नरहेको जिकिर गरेको छ।

त्यसैगरि कोभिड १९ महामारी र अन्तर्राष्ट्रिय यात्रामा लागु भएको प्रतिबन्धका कारणले अन्तर्राष्ट्रिय रोमिङ सेवामा अभुतपूर्व गिरावट आएको तथा ओटीटीको बढ्दो प्रयोगले अन्तर्राष्ट्रिय अन्तरआवद्दता सेवामा भारी गिरावट आएको उल्लेख गरेको छ ।

यस बाहेक नेपाल टेलिकमले समीक्षा अवधिमा वाह्य श्रोतबाट प्राप्त जनशक्तिको न्यूनतम ज्यालादरमा भएको वृद्धि, मर्मत संभार खर्चमा भएको वृद्धि, विदेशी मुद्रा सटहि दरमा आएको परिवर्तन तथा 4G/FTTH जस्ता नविन प्रविधि जडान गरिएकोले ह्रास कट्टीमा भएको वृद्धि आदिका कारणले व्ययभार बढ्न गई मुनाफामा असर परेको जनाएको छ।

बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेप तथा कल निक्षेपमा प्राप्त हुने व्याजदर अघिल्लो बर्षको तुलनामा चालु आवमा घट्न गएको हुँदा व्याज आम्दानीमा कमी आएको समेत उल्लेख गरेको छ। यस्तो आम्दानी चौथो त्रैमासिकमा १ अर्ब ५१ करोड ८४ लाख ५५ हजार रुपैयाँ रहेको छ।

अर्कोतर्फ नेपाल टेलिकमले कुल आय वृद्धिमा भने सुधार गर्न सफल भएको देखिएको छ । बिबरणअनुसार  गत आ.व. को आषाढ मसान्तको अन्तिम लेखापरीक्षण पश्चातको कुल सेवा वापतको आय रु. ३४ अर्व ६१ करोड ९९ लाख ६४ हजार रहेकोमा चालु आ.व. को सोही अवधिमा कुल सेवा वापतको आय रु. १ अर्व २८ करोड ३७ लाख ६९ हजार (३.७० प्रतिशत ) ले वृद्धि भई रु. ३५ अर्व ९० करोड ३७ लाख ३३ हजार रहेको छ।

त्रैमासिकरुपमा पनि आयमा वृद्धि गर्न सकेको वित्तीय बिबरणमा देखिन्छ । गत आ.व. को चौथो त्रैमासिक अवधिमा कुल सेवा वापतको आय रु. ७ अर्व ७८ करोड ३३ लाख २० हजार रहेकोमा चालु आ.व. को सोहि अवधिमा कुल सेवा वापतको आयमा रु. ६६ करोड ९० लाख ६० हजार (८.६० प्रतिशत ) ले वृद्धि भई रु. ८ अर्व ४५ करोड २३ लाख ८० हजार रहेकोछ ।

प्रकाशित: ३० श्रावण २०७८, शनिबार