दूरसञ्चार प्राधिकरणको पत्र विद्युत प्राधिकरणलाई, अनुमति लिएर मात्र सेवा सञ्चालन र शुल्क लिन पाइने

Technology Khabar २५ श्रावण २०७८, सोमबार

दूरसञ्चार प्राधिकरणको पत्र विद्युत प्राधिकरणलाई, अनुमति लिएर मात्र सेवा सञ्चालन र शुल्क लिन पाइने
NTC_Advt

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल विद्युत प्राधिकरण (एनईए) लाई अनुमतिपत्र लिएर मात्र नेटवर्क सेवा प्रदायकको काम गर्न भनेको छ।

प्राधिकरणले हालै एनईएलाई पत्र पठाएर दूरसञ्चार ऐनअनुसार मात्र काम गर्न भन्दै पोल भाडाको शुल्क ऐन विपरित भएको भनेको हो।

टेक्नोलोजीखबरले तेस्रो पक्षबाट प्राप्त गरेको सो पत्रमा दूरसञ्चार सेवाको सञ्चालन, बिक्री बितरण तथा महसुल निर्धारण सम्बन्धमा दूरसञ्चार ऐन २०५३ मा उल्लेख भएअनुसार मात्र गर्न पाईने जानकारी गराईएको छ।

जसअनुसार अनुमतिपत्र नलिई दूरसञ्चार सेवा सञ्चालन गर्न नपाईने प्रावधान रहेको छ भने सेवा शुल्कको हकमा भने नेपाल दूरसञ्चार प्राधिकरणबाट स्वीकृत भएको हुनुपर्ने प्राबधान रहेको छ।

प्राधिकरणले दूरसञ्चार ऐन २०५३ अनुसार अनुमति पत्र प्रदान गरेका सबै सेवा प्रदायकहरुको महशुल दर बोर्डबाट स्वीकृत गरेर सार्वजनिकरुपमा प्रकाशन गर्नुपर्ने बाध्यकारी ब्यवस्था गराएको छ। सोहिअनुसार अन्य सेवा प्रदायकहरुले त्यस्तो सेवा शुल्क दर प्रकाशित गर्दै आएका छन्।

तर एनईएले भने आफैं सेवा शुल्क निर्धारण तथा अनुमति नलिई नेटवर्क सेवा प्रदायकको रुपमा काम गर्दै आएको छ।

दूरसञ्चार प्राधिकरणले यसअघि इन्टरनेट सेवा प्रदायक संघ नेपालको उजुरी पत्रको आधारमा एईएलाई सो पत्र पठाएको स्रोतले जानकारी दिएको छ।

आइस्पानले यसअघि दूरसञ्चार प्राधिकरण समक्ष एनईएले हचुवाको भरमा दर तोक्ने गरेको र सो दर व्यवहारीक नभएको तथा त्यसले इन्टरनेट सेवाको शुल्क बढाउन सक्ने चेतावनीसहित गुनासो गरेको थियो।

यसअघि पनि विद्युत प्राधिकरणले पटक पटक इन्टरनेट सेवा तथा केबुल टिभी सेवा प्रदायकहरुलाई पोल भाडा तिर्न र नतिरेको खण्डमा तार काटिदिने चेतावनी दिँदै आएको छ।

सोहि विषयलाई ध्यानमा राखेर दूरसञ्चार प्राधिकरणले विद्युत प्राधिकरणलाई सो बारेमा स्मरण पत्र पठाएको हो।

दूरसञ्चार प्राधिकरणले दूरसञ्चार ऐन २०५३ को व्यवस्था प्रतिकुल हुने गरी कार्य नगर्न भन्दै ऐनअनुसार अनुमति लिएर मात्र सेवा सञ्चालन गर्न तथा सेवा बापतको शुल्क लागु गर्न आग्रह गरेको छ।

प्रकाशित: २५ श्रावण २०७८, सोमबार